काठमाडौं, १३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद डा. चन्द्र भण्डारीले देशको राजनीतिलाई सहमतिको माध्यमबाट अघि बढाउनुपर्नेमा जोड दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् । उनले भने,‘कांग्रेस आफ्नो ठाउँमा छ । नेपालको राजनीतिलाई हामीले सहमतिका साथ अघि बढाउनुपर्छ । आन्तरिक र बाहृय सम्बन्धका बारेमा के–के कुरामा असहमति छ ? त्यो टुँगो लगाउनुपर्छ । एजेण्डावाईज कुरा गर्दा सहमति गर्न सक्छौं । व्यक्ति हेरेर कुरा गर्दा सही मार्गमा जान सकिँदैन् । त्यो कुरालाई ध्यानमा राख्नुपर्छ ।’
भारतीय गुप्तचर रअका प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको शिष्टाचार भेटवार्तालाई कसरी लिनुभएको छ ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘पहिलो कुरा त भारत र नेपाल सम्बन्ध सधार गर्नुपर्ने आवश्यकत्तता देखिन्छ । हेर्नुहोस साथी फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिँदैन् । भारतले नेपालसँग प्रेमपुर्वक कुटनीतिक गर्नुपर्दथ्यो । तर, उसले दबाबपूर्ण कुटनीतिक कदम चाल्यो । दुवै देशले सिमा विवाद समाधान गर्न पहल गर्नुपर्छ ।’
उनले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको जिकिर गरे । उनले भने,‘यो सरकारले जनमतलाई सम्मान गर्न सकेन । हेर्नुहोस, अहिले गरिबी छ । सिमा सुरक्षा हुन सकेको छैन् । यो भन्दा लज्जास्पद केही छैन् । नेपाल–भारत समबन्ध कस्तो बनाउने ? भन्ने कुरा दुवै देशमा आधारित छ । म सँधैं भन्दै आएको छु–नेपाल र भारत सम्बन्ध राम्रो हुनुपर्छ । सम्वादहिनता तोडिनको लागि प्रधानमन्त्रीका बीचमा कुरा भयो । यो राम्रो हो । अहिले रअ प्रमसखसँग के कुरा भयो भन्ने कुरा सरकारले पारदर्शीता हुनुपर्छ ।’
भारतीय सेनाअध्यक्ष नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ, भारतीय प्रधानमन्त्री मोदीको दृष्टिकोण परिवर्तन भएको हो ? वार्ताको टेबुलमा बस्न दुवै पक्ष राजी भएका हुन ? भन्ने अर्को प्रश्नमा उनले भने,‘हुनुपर्छ । दुई देशबीचको कुटनीतिक सम्बन्ध सही तरिकाले चलाउनुपर्छ । कर्मचारीतन्त्रमा डिल गर्नुहुँदैन् । राजनीतिक रुपमै गर्नुपर्छ ।’