इलाम, कार्तिक १४ । कोरोना सङ्क्रमणपछि थला परेको पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले पहाडी जिल्लामा सामूहिक साइकल यात्रा सम्पन्न भएको छ। लिंक्स पेडल नामक संस्थाको आयोजनामा भएको यात्रामा विभिन्न पेशामा आवद्ध १३ युवा साइकल यात्री सहभागी थिए।
इलामको हरियाली चियाबारी, नागबेली झैँ घुमेका सडकमा साइकल यात्रीको आगमनले थप रमाइलो थप्ने काम गरेको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालुले बताए। उद्योग बाणीज्य सङ्घको पहलमा साइकल यात्रीलाई स्वागत गर्दै कोरोना कहरमा शून्य रहेको पर्यटनले केही बढ्ने विश्वास व्यक्त भएको थियो। साइकलयात्री बुद्ध तामाङले सो क्षेत्र पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको सन्देश प्रवाह गर्न आफुहरु यहाँ आएको बताए।
ताप्लेजुङको सुकेटारदेखि शुरु भएको चार दिने साइकल यात्रा झापामा सम्पन्न भएको साइकल यात्राका संयोजक योगेन्द्र थापाले बताए। द हिमालयन माउण्टेन बाइक विर्तामोडको सहयोगमा सञ्चालन भएको साइकल यात्राका सहभागीले पहाडको नागबेली सडकका साथै इलामको चियाबारी लगायतका क्षेत्र छिचोल्दै दुइ सय ३० किलोमिटर यात्रा गरेको बताए। इन्धनको बचत तथा शारीरिक कसरत राम्रो हुने भएकाले साइकल यात्रा फलदायी हुने सहभागीको भनाइ थियो।