काठमाडौं, कार्तिक १४। नेपाल–भारत तथा नेपाल–चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा आउट पोष्ट (बीओपी) कार्यालयको सङ्ख्या १७७ पुगेको छ ।
अझै २२१ वटा बीओपी अत्यावश्यक रहेको सशस्त्र प्रहरीको भनाइ छ । यसका लागि सरकारको योजना कार्यान्वयनका लागि अझै १० हजार जनशक्ति अभाव रहेको सुरक्षा
अधिकारीको दाबी छ ।
सीमा सुरक्षा पोष्ट ११ देखि १५ किलोमिटरको दूरीमा छन् । बीओपीको स्थापना देशको सीमा सुरक्षासँग जोडिएकाले प्रभावकारी परिचालन, उचित बन्दोबस्ती र स्थायी संरचनासँगै पर्याप्त जनशक्तिको आवश्यकता रहेको छ ।
सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालले भन्नुभयो, ‘‘सीमा सुरक्षाका लागि अझै १० हजार जनशक्ति अपुग छ, छिमेकी देशको तुलनामा हाम्रो उपस्थिति निकै कमजोर छ । नेपालसँगको सीमा क्षेत्रमा भारतले ५३० वटा सीमा सुरक्षा कार्यालय सञ्चालनमा ल्याएको छ। ’’
सुरक्षा पोष्टको सङ्ख्या भने थप्ने क्रम जारी छ । नेपाल–चीन सीमा क्षेत्र सङ्खुवासभाको किमाथाङ्का र मुस्ताङको कोरोला नाकामा केही हप्ताअघि नयाँ ‘बीओपी’ स्थापना भएसँगै सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टको सङ्ख्या यति पुगेको हो ।
सीमा सुरक्षा पोष्टको स्थापनाले नेपालको सीमा अतिक्रमण रोक्न तथा अपराध गतिविधि नियन्त्रण गर्न र शान्तिसुरक्षा कायम राख्न सशस्त्र प्रहरीको उपस्थिति प्रभावकारी बन्दै गएको सुरक्षा अधिकारीको दाबी रहेको आजको राजधानी दैनिकमा खवर छ ।