Logo

नेकपा विवाद: गुटबीच सांसद तानातान



काठमाडौं, १५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको टकराव बढेपछि दुवै पक्ष शक्तिसञ्चयमा सक्रिय भएका छन् । दुवै पक्ष सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी देखि संसदीय दलमा समेत पकड बलियो बनाउन सक्रिय भएका हुन् ।

विश्वस्त स्रोतका अनुसार ओली र प्रचण्ड दुवै पक्षले संसदीय दलमा शक्ति वृद्धिमा सक्रियता बढाएका छन् । दुवैले आफ्नो पक्षका सांसदहरुको हस्ताक्षर समेत सुरक्षित राखेको बुझिएको छ । बढीभन्दा बढी सांसदहरुलाई आफ्नो पक्षमा पार्न दशैंभर पनि गृहकार्य भएको छ ।

कुनैपनि बेला प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भित्री तयारीमा उनीइतरको समूह सक्रिय भएपछि शक्तिवृद्धिको अभ्यासले गति लिएको हो । कुनैपनि कमिटीमा ओली र प्रचण्ड एक्लैको बहुमत भने छैन । यसकारण पनि वरिष्ठ नेता माधवकुमार नेपाल निर्णायक शक्ति बनेका छन् । उनी जसको पक्षमा हुनेछन् उसकै पल्लाभारी हुनेछ ।

नेकपाभित्र सचिवालय, स्थायी र केन्द्रीय कमिटीमा ओली एक्लै अल्पमतमा छन् । उक्त कमिटीमा प्रचण्ड र माधवकुमार नेपाल मिल्दा बहुमतमा छन् । तर, संसदीय दलमा ओली पक्ष एक्लैले बहुमत दाबी गरेको छ । ओलीनिकटस्थ सांसद महेश बस्नेतले आफूहरु सबै कमिटीमा बहुमत रहेको दाबी गरेका छन् । ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनमा विशेष कुराकानी गर्दै उनले कसैले पनि ओलीलाई हटाउन नसक्ने दाबी गरे । उनले संसदीय दलमा ओलीको पक्षमा बहुमत रहेको दाबी समेत गरे ।

नेकपाभित्रको असन्तुष्टिले कुनैपनि बेला ओलीविरुद्ध अविश्वासको प्रस्ताव सम्मको अवस्था ल्याउने देखिदै गएको छ । संसदको हिउँदे अधिवेशन नजिकिदै गर्दा अविश्वासको प्रस्तावको चर्चा चलेको छ । त्यसमाथि ओलीइतर समूहले त्यसको भित्री तयारी गरेको बुझिएको छ । यसैलाई दृष्टिगत गरी ओली पक्षले दशैंमा पनि हस्ताक्षर संकलन गरेका थिए । तर, त्यसबाट पूर्ण बहुमत जुटाउने गरी हस्ताक्षर संकलन नभएको बुझिएको छ ।

ओली पक्षले प्रचण्ड नजिक मानिएका केही सांसदलाई आफ्नो पक्षमा पारेका थिए । टोपबहादुर रायमाझी, लेखराज भट्ट ओली पक्षमा गएको चर्चा चल्दै आएको छ । तर, रायमाझी मन्त्री नबनाइएकाले असन्तुष्ट बन्दै गएका छन् । प्रचण्ड पक्षले आफ्नो पुरानो गुट जोगाउन सक्रियता बढाएको छ । यता माधवकुमार नेपाल पनि आफ्नो गुटको रक्षामा लागेका छन् । कुनैपनि बेला शक्तिको परीक्षणको बेला आउने सम्भावना बढेपछि संसदीय दल देखि पार्टी कमिटीमा प्रभाव बनाउन नेताहरुले सक्रियता बढाएका छन् ।



प्रतिक्रिया दिनुहोस्