काठमाडौ, १६ कार्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा एक हजार ५०० वटा गुर्जोको बिरुवा रोपेको छ। त्यस्तै, उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५/५ वटा गुर्जोको बिरूवा रोपेको प्रहरीले जानकारी दिएको छ। हिजो (शनिबार) एक कार्यक्रमका वीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, गुर्जोको विरुवा उपलब्ध गराएका अभियन्ता कमलबहादुर राजलवट, राष्ट्रिय योजना आयोगका सह-सचिव किशोर जोशी, प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा गुर्जोको बिरूवा रोपिएको हो।
एसएसपी भीमप्रसाद ढकालले भने,‘फ्रन्ट लाइनमा रहेर काम गर्ने ट्राफिक प्रहरीले सडकमा धेरैसँग सम्पर्क गर्नुपर्ने र यसो हुँदा कोरोना भाइरस संक्रमणको जोखिम पनि धेरै छ, त्यसैले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न गुर्जोको सेवन निकै प्रभावकारी र फाइदा भएकोले उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा यस्ता विरूवा रोप्ने कामको थालनी गरिएको हो।’
निःशुल्क गुर्जो वितरण अभियन्ता राजलवट आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख हुन । राजलवट र जोशीले नै ट्राफिक महाशाखालाई उक्त गुर्जोको बिरुवा वितरण गरेका थिए। उक्त अवसरमा उपस्थित् महानुभावहरुलाई गुर्जोको धुलो प्याकेट र चिया प्याकेट पनि प्रदान गरिएको र चिया पनि सेवन गराईएको राजलवटले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । Photo By: Kamal Bahadur Rajlawat