प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’
(सदस्य सचिव – नेपाल प्रज्ञा प्रतिष्ठान)
पिता÷माताः स्व.ज्यो.पं. हरिप्रसाद उपाध्याय÷स्व. मानकुमारी उपाध्याय
जन्म÷जन्मस्थानः २०२५ चैत्र २८ गते÷ भैरवी–३ लम्जी, दैलेख
अध्ययन :.आचार्य (प्राचीन न्यायवैशेषिक दर्शन, विश्वविद्यालय प्रथम, नेपाल (तात्कालिक महेन्द्र) संस्कृत विश्वविद्यालय), एमए तथा बी.एड.(नेपाली, प्रथम श्रेणी, त्रिभुवन विश्वविद्यालय), हालः विद्यावारिधि अनुसन्धानरत
प्रथम प्रकाशित रचना :.‘मेरो चाहना’ कविता (‘आमोद’ पत्रिका, स्ववियु मुखपत्र, जनता विद्यापीठ, दाङ, २०४५)
प्रकाशित कृतिहरू :
सिर्जनातर्फ
(१) ‘आकुञ्चन’ संयुक्त कवितासङ्ग्रह (२०५०)
(२) ‘ज्वाला’ खण्डकाव्य (२०५४)
(३) ‘कमिलाको एकता’ बालकवितासङ्ग्रह (२०५९)
(४) ‘समयका छालहरू’ कवितासङ्ग्रह (२०६०)
(५) ‘हिमाल हेर्न जाऔँ’ बालकवितासङ्ग्रह (२०६५)
(६) ‘सेता हाँस र मुसाहरू’ सचित्र बालकथा (२०६६)
(७) ‘म, माटो र मुटु’ कवितासङ्ग्रह (२०७५)
(८) ‘आरम्भ’ हाइकुसङ्ग्रह (२०७५)
(९) ‘समय र जीवन’ निबन्धसङ्ग्रह (२०७७)
समालोचनातर्फ
(१) काव्य परिशीलन (२०७५)
(२) केही आलोचनात्मक भूमिकाहरू (२०७५)
(३) साहित्यकार श्यामप्रसादः सङ्क्षिप्त परिचय (जीवनी पुस्तिका (२०७३)
(४) साहित्यकार श्यामलको सङ्क्षिप्त जीवनवृत्त (जीवनी पुस्तिका(२०७४)
इतिहास अनुसन्धानतर्फ
(१) नेपाल प्रज्ञा÷प्रतिष्ठानका गौरवमय साठी वर्ष (२०७४)
(२) दैलेख लम्जीको कश्यपगोत्रीय पाण्डेय वंश र ज्यो.पं. हरिप्रसाद उपाध्याय
(२०७५)
पाठ्यपुस्तकतर्फ
(१) नेपाली व्याकरण, बोध र अभिव्यक्ति (उच्च माध्यमिक शिक्षा परिषद्को अनिवार्य नेपाली विषयको पाठ्यक्रममा आधारित पाठ्यपुस्तक (२०६४)
(२) अनिवार्य नेपाली (त्रि.वि. तथा ने.सं.वि.को प्रमाण÷पत्र तहको पाठ्यपुस्तक (२०६४)
अनुवादतर्फ
(१) माक्र्सवादको मूलभूत सिद्धान्त (२०५९)
(२) माक्र्सवादको रूपरेखा (२०६४)
(३) तर्कामृतम् (संस्कृत न्याय÷वैशेषिक दर्शनमा आधारित विशेष टिप्पणी र व्याख्यासहित अनुवाद (२०६७)
सम्पादनतर्फ (ग्रन्थमात्र)
(१) संस्कृत विद्वत्सम्मेलन संस्मरण ग्रन्थ (२०५१)
(२) तोयनाथ पाण्डेय स्मृतिग्रन्थ (२०५९)
(३) रमेश विकलः विम्ब एक, प्रतिविम्ब अनेक (समालोचना ग्रन्थ(२०६७)
(४) रमेश विकलः विम्ब एक, प्रतिविम्ब अनेक (स्मृतिग्रन्थ(२०६७)
(५) प्रज्ञा समकालीन नेपाली प्रतिनिधि छन्दकविता (२०७३)
(६) ‘गन्तव्य’ शिक्षा आयोग प्रतिवेदन विशेषाङ्क (२०६६)
(७) दर्शनावली भाग ६ (२०७६)
(८) दर्शनावली भाग ७ (२०७७)
प्रकाशनोन्मुख कृतिहरू
(१) गद्य अनुशीलन (समालोचना)
(२) पौरस्त्य दर्शनको सैद्धान्तिक रूपरेखा (पूर्वीय दर्शनको इतिहास र सिद्धान्तको खोज र विश्लेषणमा आधारित ग्रन्थ)
(३) केही वैचारिक निबन्धहरू (निबन्धसङ्ग्रह)
(४) स्मृतिविम्ब (निबन्धसङ्ग्रह)
(५) दृष्टि एक, सृष्टि अनेक (समीक्षा)
(६) आलोचनाका अनेक रूप (समालोचना)
(७) खण्डकाव्य सिद्धान्त र नेपाली खण्डकाव्य (समालोचना)
(८) यात्रा र अनुभूति (निबन्धसङ्ग्रह)
(९) आहा ! कति राम्रो मेरो घर (बालकाव्य)
(१०) केही दार्शनिक अनुशीलन (अनुसन्धानपरक दार्शनिक निबन्धसङ्ग्रह)
(११) मध्यरातमा (गद्यकवितासङ्ग्रह)
(१२) प्रेक्षितका गीत, गजल र मुक्तक
(१३) केही व्यक्ति, केही संस्था (प्रबन्धसङ्ग्रह)
(१४) छरिएका शैक्षिक चिन्तन (शिक्षासम्बन्धी लेख र गोष्ठीपत्रसङ्ग्रह)
पदीय जिम्मेवारी
पूर्व कुलसचिव (नेपाल संस्कृत विश्वविद्यालय)
हाल सदस्य सचिव, नेपाल प्रज्ञा÷प्रतिष्ठान
यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो ? साहित्य लेखनमा लाग्न कसबाट र कसरी प्रभावित हुनुभयो ?
मेरो साहित्य लेखन म चौध÷पन्ध्र वर्षको हुँदा २०३९÷४० तिरबाट सुरु भएको हो । सृजनाका क्षेत्रमा लाग्ने प्रेरणा मैले आफ्नै घरपरिवार, समाज, वरपरको प्रकृतिका साथै अग्रज स्रष्टाका कृति पढेर पाएको हुँ । विशेष गरेर दैलेखको दुल्लु, लम्जीस्थित मेरो घर पौरस्त्य ज्योतिषशास्त्र र धर्मशास्त्र अनि कर्मकाण्डको अनौपचारिक पठनपाठन हुने गुरुकुल नै थियो । दैलेख जिल्लाका विभिन्न गाउँ र छिमेकी जिल्लाबाट समेत ज्योतिष र कर्मकाण्ड पढ्न ब्राह्मण वटुक हाम्रा घरमा आउने गर्दथे । कति त आवासीय रूपमा नै पढ्ने विद्यार्थी थिए । मेरा पिताजी हरिप्रसाद उपाध्याय दैलेख र अझ भेरी अञ्चलमै नाम चलेका ज्योतिषी र कर्मकाण्डी हुनुहुन्थ्यो । लगभग एक हजार वर्षदेखि हाम्रो परिवारमा चलिआएको ज्योतिषीय परम्परालाई उत्तराधिकारीका रूपमा उहाँले नै अघि बढाइरहनुभएको थियो । उहाँ खण्डखाद्यपद्धतिअनुसार पञ्चाङ्ग गणना गर्नुहुन्थ्यो र प्रत्येक वर्ष पञ्चाङ्ग निकाल्नुहुन्थ्यो । यही पद्धतिअनुसारको गणना गर्न उहाँ नयाँ पुस्तालाई सिकाउनुहुन्थ्यो । त्यस्तै शुद्ध ढङ्गले कर्मकाण्ड गर्न सिकाउने उद्देश्यले उहाँले स्वर र सारसहित शुक्ल यजुर्वेद र रुद्री पढाउने गर्नुभएको थियो भने अमरकोश, दुर्गासप्तशती चण्डी, सत्यनारायण व्रतकथा, श्रीमद्भगवद्गीता, श्रीमद्भागवत महापुराण, योगवाशिष्ठ, रामायण, महाभारतलगायतका पुस्तक सस्वर पढाउनुहुन्थ्यो । दिनभरि पढेको कुरा बेलुका पाठ बुझाउनुपथ्र्यो । म केटाकेटीमा अत्यन्त तीक्ष्ण थिएँ । एकै दिनमा संस्कृतका सय श्लोक कण्ठ गरेर सुनाइदिन्थेँ । यसरी संस्कृतका वैदिक मन्त्र र श्लोक लय हालेर पढ्न मैले सानैमा सिकेँ । म जन्मेको र हुर्केको ठाउँ दुल्लू प्राचीन सिँजा साम्राज्यको हिउँदे राजधानी रहेकाले पनि होला, त्यसले लामो ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक र लोकसाहित्यिक महत्त्व बोकेको छ । त्यहाँ धेरै जात्रा लागिरहन्थे र ती जात्रामा गायकगायिकाका जोडी मिलेर न्याउल्या भाकामा दोहोरी गाउने चलन थियो । घाँसदाउरा र मेलापात गर्न तथा गाईवस्तु चराउन जाँदासमेत लामो लेग्रो तानेर ठाडो भाकामा गीत गाउने गरिन्थ्यो अनि पर्वविशेषमा डेउडा, धमारी, झोडा, मागल आदि गाउने चलन पनि थियो । यस्तो गीति परिवेशले मलाई गुन्गुनाउन सिकायो । चौध वर्षका उमेरमा औपचारिक रूपमा संस्कृत पढ्न भारतको अयोध्या जाँदा अध्ययनकै सिलसिलामा जनकवि युद्धप्रसाद मिश्रको ‘बाढी’ कवितासङ्ग्रह र राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘गौरी’ शोककाव्य पढ्ने मौका मिल्यो । बाढीले मलाई समाजमा व्याप्त शोषण, उत्पीडनविरुद्ध लड्न सक्ने शक्ति र सामथ्र्य बोकेका तथा देशभक्तिका कविता लेख्न प्रेरणा दियो भने गौरीले मानवीय करुणा र संवेदनाका कविता लेख्न प्रेरणा दियो । त्यसैले म यी सबैलाई मेरा निम्ति सृजनामा लाग्ने प्रभाव र प्रेरणाका स्रोत ठान्दछु ।
कसरी बढिरहेको छ त लेखन गतिविधि ?
म अहिले नेपाल प्रज्ञा÷प्रतिष्ठानको सदस्य सचिव र दर्शनशास्त्र विभागको प्रमुखका रूपमा पदीय जिम्मेवारीसमेत निर्वाह गरिरहेको छु । यसभन्दा पहिले पनि मैले चार वर्ष नेपाल संस्कृत विश्वविद्यालयको कुलसचिवका रूपमा र दुई वर्षजति वाल्मीकि विद्यापीठको सहायक प्राचार्य तथा केही समय निमित्त प्राचार्यका रूपमा समेत प्रशासनिक र व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरेँ । यस्ता जिम्मेवारीमा रहँदा निश्चय नै लेखन र अनुसन्धानमा पर्याप्त समय दिन नसकिएकै स्थिति हो । तर पछिल्लो समयमा मैले प्रज्ञा प्रतिष्ठानका प्रशासनिक, व्यवस्थापकीय, आर्थिक र अन्य प्राज्ञिक विभागीय कार्यका लागि समय दिँदा दिँदै पनि बिहान बेलुकाको समय आफ्ना लागि समेत निकाल्ने प्रयत्न गरेको छु । एक वर्षअघि नै तयार भइसकेका तर मुद्रणका क्रममा रहेका एउटा कवितासङ्ग्रह, एउटा हाइकुसङ्ग्रह, एउटा समालोचना र एउटा भूमिकाको पुस्तक गरी चारओटा पुस्तक केही समयअघि सार्वजनिक भइसकेका छन् । एउटा निबन्धसङ्ग्रह मुद्रणका क्रममा छ र छिट्टै सार्वजनिक पनि हुँदै छ । साहित्यको गद्यविधासम्बन्धी एउटा समालोचनाको पुस्तक, ‘पौरस्त्य दर्शनको सैद्धान्तिक रूपरेखा’ नामक पुस्तक र ‘वैचारिक निबन्धहरू’ नामक निबन्धसँगालो यसै वर्ष प्रकाशन गर्ने गरी लागिरहेको छु । प्रकाशनको पर्खाइमा रहेका अन्य सामग्री पनि परिष्कार÷परिमार्जन गर्दै र केही नयाँ कविता तथा निबन्ध रचनाका साथै समालोचना, दर्शन आदिसम्बन्धी अनुसन्धानात्मक लेखन एवं कतिपय स्रष्टाको आग्रहअनुरूप भूमिकालेखनसमेत गर्दै आएको छु । एउटा नियात्रा र एउटा संस्मरणको पुस्तकसमेत खाका तयार गरेर लेखन कार्य प्रारम्भ गरेको छु । हाल यसरी नै अघि बढिरहेको छ मेरो लेखन गतिविधि ।
वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
वर्तमान नेपाली साहित्यको लेखनका विषयमा चर्चा गर्दा गुण र परिमाण दुवै कोणबाट हेर्नुपर्ने हुन्छ । आज नाटक विधामा केही कम लेखिए पनि अन्य सबै विधामा नेपाली साहित्य प्रशस्त मात्रामा लेखिएको छ । आजको नेपाली साहित्यले वैश्विक व्याप्ति पनि पाएको छ । विश्वभरि छरिएर रहेका गैर आवासीय नेपालीका माध्यमबाट डायास्पोरिक नेपाली साहित्यको समेत विकास भएको छ । कविताका क्षेत्रमा बृहत्तम रूप महाकाव्यदेखि लिएर मध्यम रूप खण्डकाव्य र लघुरूप फुटकर कविता प्रचुर मात्रामा रचिएका छन् । गीत, गजल, मुक्तक र हाइकुको त बाढी नै आएको छ भने पनि हुन्छ । निबन्ध विधा पनि लोकप्रिय बन्दै गएको छ । वर्तमानमा संस्मरण र नियात्रा प्रशस्त लेखिएका छन् । कथा र उपन्यासमा समेत नयाँ प्रयोग भित्रिएका छन् । समालोचना विधासमेत निकै फस्टाएको छ । श्रव्य, दृश्य र छापा सञ्चारमाध्यमको बढोत्तरी हुनु र तिनले साहित्यलाई महत्त्वपूर्ण स्थान दिनु अनि निजी क्षेत्रमा समेत यथेष्ट स्थापना र सञ्चालन भएका प्रकाशन गृहले साहित्यिक रचनालाई प्रकाशन गर्न रुचि देखाउनु एवम् राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमा नेपाली पाठकको सङ्ख्या पनि बढ्दै जानुलाई मैले वर्तमानमा नेपाली साहित्य सृजनामा लहर आउनुको कारणका रूपमा लिएको छु । वर्तमानको नेपाली साहित्यका यी धनात्मक पक्ष हुन् । एकदुईओटा रचना वा कृति लेखन, प्रकाशन गर्दैमा के के न गरेँ भन्ने ठानेर गमक्क पर्ने, नाम वा चर्चाको भोकले सधैँ छट्पटाइरहने, पहुँच, पैसा र पदको प्रभाव प्रयोग गरेर आफू अनि आफ्ना कृतिको उच्च मूल्याङ्कन गराएर प्रकाशन तथा प्रसारण गराउने, अरूका गम्भीर रचना पनि नपढ्ने र आफ्ना कमजोर रचनाको पनि अतिरञ्जनात्मक मूल्याङ्कन गरेर आत्मरतिमा रमाउने अनि गुणगाम्भीर्ययुक्त सृजनाको साधनामा भन्दा हल्का ढङ्गले हतारमा लेखेर परिमाण वृद्धि गर्न रुचाउनेजस्ता प्रवृत्तिगत कमजोरी पनि आजका कतिपय स्रष्टामा देखिन्छन् । यी वर्तमानको नेपाली साहित्यका ऋणात्मक पक्ष हुन् भन्ने मलाई लाग्छ । यसतर्फ स्रष्टा सचेत रहनुपर्दछ । समग्रमा वर्तमान लेखनप्रति म सन्तुष्ट नै छु ।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
मैले सुरुमै पनि सङ्केत गरिसकेँ । मेरो एउटा ललित निबन्धसङ्ग्रह तयारी अवस्थामा छ । अर्को वैचारिक निबन्धसङ्ग्रह, ‘गद्य अनुशीलन’ नामक समालोचना र ‘पौरस्त्य दर्शनको सैद्धान्तिक रूपरेखा’ नामक दर्शनसम्बन्धी कृति २०७७ भित्रै प्रकाशन गर्ने तयारीमा म छु ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
साहित्य राष्ट्रको पहिचान हो । साहित्यले कुनै पनि राष्ट्र र त्यसका विशिष्ट पक्षलाई कलात्मक अभिव्यक्तिका माध्यमबाट मानव÷मनलाई रञ्जित गराउँदै युगौँ युगसम्म जीवन्त, प्राणवान् र अमर तुल्याउने सामथ्र्य राख्छ । वैदिक सूक्तका साथै आर्षकाव्यका रूपमा रहेका रामायण र महाभारतको प्रभाव आजसम्म पनि हाम्रो समाजमा सशक्त छ । भानुभक्तको एउटै रामायणले आज देश÷विदेशमा रहेका समस्त नेपालीलाई गौरवान्वित गराएको छ । राष्ट्रिय पहिचानमा यस्तो महत्त्वपूर्ण भूमिका खेल्ने साहित्य र त्यसका स्रष्टाप्रति राष्ट्रको ठूलो जिम्मेवारी रहन्छ । प्राचीनकालमा स्रष्टालाई राज्यका तहबाट जीविकाको सुनिश्चिततासहित विशेष सम्मान दिएर रत्नका रूपमा राखिएको हुन्थ्यो । यसबाट पनि साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी हुन्छ भन्ने कुरा बुझ्न मद्दत पुग्छ ।
तपाईंको साहित्यिक आदर्श के हो ?
म जीवनलाई केन्द्रमा राखेर साहित्य सृजना गरिनुपर्छ भन्ने मान्यता राख्छु । ‘साहित्य साहित्यका लागि’ मात्र भयो भने त्यसले मानवसमाजलाई सुसंस्कृत, समान, स्वतन्त्र, सुखी र समृद्ध बनाउनमा कुनै भूमिका खेल्न सक्दैन तर ‘साहित्यलाई जीवनका लागि’ भनेर सृजना गरियो भने त्यो सार्थक हुन्छ । मेरो साहित्यिक आदर्श भनेकै ‘मूलतः बहुजनहित र अंशतः स्वान्तःसुख’ हो । यही मन्त्रलाई केन्द्रमा राखेर म सृजना गर्छु ।
वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
यो सापेक्ष कुरा हो । केही अपवादबाहेक बहुसङ्ख्यक नेपाली लेखकले आफ्नो लेखकीय दायित्व पूरा गरिरहेकै म देख्छु । आज कोरोना भाइरस ‘काभिड÷१९’ को विश्वव्यापी महामारीको सन्त्रास छाएका समयमा पनि नेपाली लेखकले मान्छेलाई यस महामारीसँग जुध्न र बाँच्न प्रेरित गर्ने खालका गीत, कविता, निबन्ध, कथा आदि लेखेर अनि गीत र कविताको गायन र वाचनका माध्यमबाट समेत ठूलो भूमिका खेलिरहनुभएको छ । यो साँच्चिकै प्रशंसनीय छ ।
तपार्इं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
पूर्ण सन्तुष्टिले त मान्छेको आगामी यात्रामै असर पार्छ भन्ने ठान्दछु । सापेक्षतामा मेरा कृतिबाट म सन्तुष्ट नै छु । अझै परिष्कृत, प्राञ्जल, जीवनमुखी र कालजयी कृति लेख्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
हिजो इतिहास र आज वर्तमान हो । हिजोका स्रष्टाले तत्कालीन जीवन अनि जगत्लाई नजिकबाट स्पर्श गरे, अनुभूत गरे र त्यसैलाई साहित्यमा उतारे । आजका स्रष्टाले भोगिरहेको जीवन र जगत् फरक छ । त्यसैले आजको साहित्यको विषय पनि फरक छ । एकदुई वाक्यमा यसको तुलना गर्न सकिँदैन । यो त गम्भीर अनुसन्धानको विषय हो ।
तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
मेरा विचारमा पाठकीय हृदयलाई आह्लादित गर्ने, मस्तिष्कलाई जागृत गर्ने र जिउनका लागि मार्ग प्रदर्शन गर्ने साहित्य लेखिनुपर्छ– जसबाट लेखकले पनि स्वान्तःसुखको अनुभूति गर्न पाओस् ।
लेखनप्रति केले पे्ररणा दिन्छ जस्तो लाग्छ ?
आफू बाँचिरहेको युग र यसका चाप÷प्रतिचाप अर्थात् समकालीन विश्व र आफू बसिरहेको समाजका विविध क्षेत्रमा देखापर्ने असङ्गतिप्रतिको असन्तुष्टि र विद्रोह अनि नवीन सङ्गत मार्गको खोजी वा त्यसप्रतिको आन्तरिक तीव्र चाहनाले नै स्रष्टालाई लेखनका लागि प्रेरणा दिन्छ जस्तो मलाई लाग्दछ ।
तपाईंको लेख्ने निश्चित समय छ कि ?
लेख्नका लागि मेरो त्यस्तो खास वा निश्चित समय छैन । कविता, गीत, निबन्धजस्ता सृजनात्मक लेखनमा भावस्फुरणका लागि बिहान र रात्रिकाल उपयुक्त लाग्छ । अन्य अनुसन्धानात्मक र सामान्य लेखन जतिखेर पनि गर्ने गरेको छु । प्रशासनिक र व्यवस्थापकीय जिम्मेवारीमा रहेका अवस्थामा त लेखनका लागि भनेर समय छुट््याउँदैमा पनि हुँदैन, कुनै न कुनै व्यवधान आइहाल्छ ।
लेख्न कस्तो वातावरण चाहिन्छ ?
लेख्नका लागि शान्त, एकान्त र स्वच्छ वातावरण चाहिन्छ ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
आफू बाँचिरहेको समाज, राष्ट्र र विश्वका विभिन्न क्षेत्रमा विद्यमान सुरूप र कुरूप यथार्थका साथै कहिलेकाहीँ प्राकृतिक विम्बलाई समेत म लेख्ने विषयवस्तुका रूपमा छान्ने गर्दछु ।
सफल स्रष्टाका आवश्यक गुण के÷के हुन् ?
सफल स्रष्टा हुनका लागि आवश्यक गुण अनवरत साधना, स्वदेशी र विदेशी ख्यातिप्राप्त लेखकको सृजना÷प्रक्रिया र तिनका कृतिको गम्भीर अध्ययन, समकालीन समाज तथा विश्वको बोधका साथै मानवमनोविज्ञानको अन्तस्तलीय स्पर्श, त्यसको मर्मस्पर्शी प्रस्तुति र जीवनप्रति सकारात्मक सोच अनि उत्तरोत्तर परिष्कृति हुन् ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
अहिलेको विश्वका मान्छेसमेत यान्त्रिक बन्दै गएका छन् । आज बहुसङ्ख्यक मान्छेले आफ्नो जीवनका लागि अत्यावश्यक ठानिएका आराम, मनोरञ्जन आदिका लागि समेत समय निकाल्न सकिरहेका छैनन् । यस्तो स्थितिमा बृहत् कायका साहित्यिक कृतिभन्दा लघु आकारका रचनाको पठनप्रति पाठकको अभिरुचि बढ्नु स्वाभाविक छ । अहिले फुटकर कविता, गीत, गजल, मुक्तक र हाइकुका साथै लघुकथा, कथा, लघु निबन्ध, निबन्धजस्ता छोटो संरचनात्मक साहित्यिक विधाका पाठक बढी भएको महशुस भएको छ । लामा कविता, खण्डकाव्य, महाकाव्य, उपन्यासजस्ता विधाका पाठक पनि एकदमै कम भएको भने होइन ।
सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
कुनै पनि उत्कृष्ट सृजनामा सजीवता र कल्पनाशीलता दुवै त्यत्तिकै आवश्यक अनि अपेक्षित हुन्छन् ।
लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
बाध्यताले लेखिन्छ भन्ने मलाई लाग्दैन । आफू र आफूवरपरको जीवन तथा जगत्लाई अन्तश्चेतनाले आन्तर÷बाह्य इन्द्रियका माध्यमबाट साक्षात्कार गरिसकेपछि तज्जन्य संवेदनाबाट उद्वेलित अवस्थामा अन्तःप्रेरणा जागृत भयो भनेमात्र स्रष्टाले विशिष्ट अभिव्यक्ति गर्दछ र त्यो साहित्य हुन्छ । साहित्य सृजना अरू लेखनजस्तो बाध्यतामा लेखिने सामान्य लेखन होइन ।
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
निरन्तर अध्ययन र साधनाविना सिद्धिको अपेक्षा गर्नु भुल हुन्छ । पुराना र समकालीन पुस्ताका बढीभन्दा बढी सृजनात्मक र सैद्धान्तिक कृति नपढिकन र जीवन तथा जगत्को बोध नभइकन उत्कृष्ट रचना गर्न सकिँदैन । यसतर्फ नयाँ लेखकको ध्यान जानुपर्छ । अहिलेको संसारमा सूचनाप्रविधिको तीव्रतम विकासबाट प्राप्त सकारात्मक परिवर्तनलाई ग्रहण गर्दै यसका पाश्र्व प्रभावका रूपमा आएका नकारात्मक पक्षबाट आफू पनि बच्ने र समाजलाई पनि बचाउने दायित्व लेखकहरूका काँधमा आएको छ । नेपाली समाजकै सन्दर्भमा समेत राजनीतिक दलहरूको पटक÷पटकको आह्वान र जनताको बलिदानपूर्ण सहभागिताबाट समावेशी लोकतन्त्र तथा सङ्घीय गणतन्त्र आएको छ । संविधान जारी भई पूर्ण कार्यान्वयनको चरणमा छ । यो परिवर्तन बाह्यमात्र हो । लोकतन्त्रलाई संस्कारका रूपमा आत्मसात् नगरिकन यो टिकाउ हुन सक्दैन । त्यसैले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै लोकतन्त्रलाई संस्कृतिमा रूपान्तरण गर्ने गराउने कार्यमा आजको नयाँ पुस्ताका लेखकको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसैले उत्तरदायित्वपूर्ण लेखन आजको आवश्यकता हो । यसका लागि म नयाँ लेखकलाई आग्रह गर्दछु ।
किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?
राजाद्वारा नेतृत्व गरिएको पञ्चायती व्यवस्था निर्दलीय भयो भनेर त्यसको विरोध र बहुदलीय प्रजातान्त्रिक प्रणालीको माग गरेर आन्दोलन गर्नेमध्येमा राजनीतिक दलका नेता÷कार्यकर्तासँगै स्रष्टा पनि थिए । २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनमा समेत स्रष्टाको सशक्त भूमिका रह्यो । लोकतान्त्रिक राजनीतिक प्रणालीमा स्रष्टाले आफ्नो मत मिल्ने दलसँग आबद्धता राख्नुलाई अन्यथा रूपमा लिनु हुँदैन । वैचारिक आस्थाका दृष्टिले जुनसुकै दलमा आबद्ध रहे पनि स्रष्टाले गर्ने लेखन र उनीहरूका प्राज्ञिक क्रियाकलाप समग्र समाजका पक्षमा छन् कि छैनन् र तिनबाट समाज, राष्ट्र तथा विश्वलाई सकारात्मक योगदान पुगिरहेको छ कि छैन भन्ने कोणबाट उनीहरूको मूल्याङ्कन गरिनुपर्दछ भन्ने म ठान्दछु ।
अन्त्यमा केही भन्न छुटेको भए…
यहाँले मलाई सम्झिनुभयो र मेरो आफ्नो सृजनात्मक लेखनका साथै समग्र साहित्यसम्बन्धमा विचार प्रस्तुत गर्ने मौका दिनुभयो । त्यसका लागि तपाईं जयराम सापकोटाजी र हामी सबैको लोकप्रिय अनलाइन पत्रिका रिपोर्टर्स नेपाल ‘डटकम’लाई धेरै धन्यवाद दिन्छु ।
प्रस्तुति : जयराम सापकोटा