Logo

पटाकासहित पक्राउ



काठमाडौं, २० कात्तिक । पटाकासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लावारी दुर्गापुरी चोकबाट २ बोरा पटाका सहित २ जना बुधबार दिउँसो पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा झापा दमक सब्जी बजारका प्रमोद कुमार शाह र मोरङ रंगेली नन्दन किशोर शाह रहेका छन् । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले प्रदेश १–०१–०१२ प ४८४२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटर चालक प्रमोद र स्कुटरमा सवार नन्दनले २ वटा बोरामा ल्याउँदै गरेको उक्त पटाका फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

यसैगरी मोरङकै धनपालथान गाउँपालिका–३ भलुवाकादस्थित सडकबाट ९७ हजार ७ सय रुपैयाँ मूल्य बराबरको विभिन्न पटाका बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । सिमा प्रहरी चौकी मायागंज र बिओपी सोराभागबाट संयुक्त रुपमा गस्तीमा खटिएको प्रहरीलाई देखेर भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको उक्त पटाका छोडेर व्यक्ति फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

त्यस्तै नेपालगंज जमुनाह गाँउस्थित सडकबाट १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका बुधबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटीएको प्रहरीलाई देखेर भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको उक्त पटाका अपरिचित व्यक्तिले सोही ठाउँमा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको जनाएको छ । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

भद्रपुर नगरपालिका–५ स्थित सडकबाट करिब ३ लाख रुपैयाँ मूल्य बराबरको पटाका बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याई लुकाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले फेला पारी उक्त पटाका बरामद गरेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्