डा.भेषराज अधिकारी : शूरता, सौर्य र संयमताका निम्ति प्रतिष्पर्धा गराई वरबधूको अटल जोडी बाँधेर जीवन फुलाउने सभ्यता हो– जनक सभ्यता । असल सामाजिक साँस्कृतिक परम्पराको धरोहरका आधारमा राज्यहरूबीच भाइचारा, मित्रता र सद्भाव विस्तारित एवं सुदृढ तुल्याउने हो– विदेह सभ्यता । हजारौँ वर्षअघिको मध्ययुगीन सामन्ती समाजमा हुर्केबढेको तिलक, दाइजो र बोक्सी प्रथाका कुहिगन्धे परम्परालाई खुलेआम चुनौती दिने चैतन्य परम्परा हो– जनकनन्दिनीपल्लवित जानकी सभ्यता । बाल ऋषिमुनि अष्टावक्र र शास्त्रार्थका जिज्ञासु विदेह राजा जनकद्वारा पोषित ज्ञानको मन्दिर हो– जनकपुर सभ्यता । आमाको गर्भदेखि नै कसैको कमजोरीमा औँलो ठड्याउन सक्ने, शारीरिक अवस्थालाई भन्दा विचारलाई उच्च स्थान दिएर ‘श्राप’प्रति गहिरो सहनशीलता सँगाल्न सक्ने संस्कृतिको अर्को रूप हो– अष्टावक्रविचरित विद्या र ज्ञानको अजस्र स्रोत हाम्रो समृद्ध सभ्यता ।
ऋषि वशिष्टद्वारा ‘श्रापित’ सूर्यवंशी राजा नीमि सन्तानहीन बनेकाले उनको निधनपछि राजवंशलाई निरन्तरता दिन राजाको मृत शरीर यज्ञद्वारा मथेर जन्मेका मिथिको नामबाट नै यस भूमिको नाम मिथिला रहेको वर्णन अनेक पौराणिक ग्रन्थमा पाइन्छ । ऐतिहासिक महत्व बोकेको यस पवित्र धर्तीमा फुलेफलेका साँस्कृतिक तथा पुरातात्विक मूर्त र अमूर्त सम्पदाको जगेर्ना गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्दछ । हजारौँ दार्शनिकलाई एउटै थलोमा जम्मा गराएर ज्ञानको खोजी गर्ने राजा जनकको प्राज्ञिक विमर्शबाट अभिप्रेरित हुँदै चेतना र जागरण प्रवाह गर्न अग्रसर हुनुपर्दछ ।
माता सुजाताको गर्भमा रहेकै बेला एकदिन पिता कहोलाले वैदिक मन्त्र उच्चारण गर्दा हरेक मन्त्रमा आठवटा त्रुटि गरेकाले औँल्याएपछि पिताको ‘श्राप’ लागेर जन्मिँदा शरीरको आठ ठाउँ खुट्टा, घुँडा, हात, छाती, टाउकोजस्ता अङ्ग बाङ्गिएका व्यक्ति पछि अष्टावक्र ऋषिका नामले प्रख्यात भए र पूर्वीय सभ्यताले ‘अष्टावक्रगीता’जस्तो उत्कृष्ट साहित्य प्राप्त ग¥यो । अहिले यहाँ यस पंक्तिकारको उद्देश्य अष्टावक्रगीतामा व्यक्त आत्मज्ञान प्राप्तिको बाटोबारेका मतको पक्ष र विपक्षमा विमर्श गर्नु होइन– बरु शिक्षा हासिल गर्न प्राचीनकालदेखि नै लालायित हाम्रो समाज, ‘श्राप’ र ‘आशीर्वाद’को चक्रमा फसेको यहाँको मनोदशाजस्ता विषयमा संक्षिप्तमा चर्चा गर्नुमात्र हो ।
श्रीकृष्णको उपदेशले गीता दियो र सँगै पाण्डव र कौरवलाई राज्यका लागि लड्न उत्प्रेरित गरेर महाभारतको युद्ध अनिवार्य गरायो । अष्टावक्रको वाणीले भोगैश्वर्यमा रहेका राजालाई घोडाबाट ओराल्यो र जङ्गलको बीचमा रहेको ऋषिको आश्रममा थप ज्ञान प्राप्तिका लागि डो¥यायो । गीताले कर्म र फलबारे विशद् व्याख्या दिएकोमा दुईमत छैन तर त्यसले युद्ध पनि निम्त्यायो तर अष्टावक्रगीताले एक राजालाई विकलाङ्ग तर ज्ञानी बालकले ज्ञान के हो र ज्ञानको शक्ति के हो भन्नेबारेमा दिव्योपदेश दिएको वर्णन गर्दै शास्त्रार्थमा उच्च र नीच, विकलाङ्ग र सबलाङ्ग हुँदैन भन्ने युगीन पाठ पढायो । ‘वादे वादे जायते तत्वबोधः’ अर्थात् तर्क गर्दै जाँदा तत्वको ज्ञान स्वतः हुँदै जान्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै शास्त्रार्थबाटै सत्यको बाटो पहिल्याउन सकिने विश्वास जागृत गरायो । शान्तिपूर्ण बहस र विमर्शबाट समृद्धिको यात्रामा अघि बढ्न मार्गदर्शन ग¥यो ।
नेपालको पवित्र आँगन ऐतिहासिक साँस्कृतिक नगरी मिथिलानरेश जनक र मुनि अष्टावक्रको त्यो कालजयी संवादको महत्ता र गरिमालाई नेपाली समाजसहित आधुनिक सभ्यताले सहर्ष स्वीकार गर्नुको विकल्प छैन । पूर्वीय सभ्यताको यस अभूतपूर्व संवादले सुख र शान्ति प्राप्तिका लागि शास्त्रार्थले मद्दत पु¥याउँछ भन्ने गहिरो सन्देशलाई सबैले ग्रहण गर्नुपर्दछ । विद्वान् ओशोले संसारमा धेरै साहित्य छन् तर अष्टावक्रगीतासँग तुलना गर्न मिल्ने अरु कुनै ग्रन्थ नै छैन भन्छन् र यसलाई अष्टावक्र महागीताको उपमा दिँदै बुद्धि, शिक्षा, ज्ञानका लागि अष्टावक्रले क्रान्ति नै ल्याएको ठान्छन् ।
मानवसभ्यताको सुरुआतमै आशीर्वाद र श्रापको अवधारणा पक्कै विकास भएको होइन । मानिसले प्रकृतिसँग जीवन–मरणको लडाइँ लडिरहेको थियो र सिङ्गो मानव जाति एकअर्काप्रति यति समीप थियो कि त्यसो नगर्ने हो भने मानिसको चोला नै सकिन्थ्यो । आफूविरुद्ध आइलाग्ने जीवजन्तु तथा प्राकृतिक प्रकोपको नियम नबुझेर बाढीपहिरो, हावाहुरी, भूकम्पजस्ता प्राकृतिक विपत्तिले पु¥याएको विनाशप्रति रिस र राग हुन्थ्यो तर मानिसमा एकले अर्काको कुभलो चिताउने फुर्सद पनि थिएन र त्यो आवश्यक पनि पर्दैनथ्यो बरु जीवनरक्षाका लागि सहकार्य र निकटता नै एकमात्र बाटो थियो । आदिम युगमा मानिसले मानिसको कुभलो चिताउँदैनथ्यो बरु शुभेच्छा नै प्रकट गर्दथ्यो । म र मेरोको भावना विकास भएपछि भने अर्काको अहित चिताउन थालियो । अनि सुरु भयो– आशीर्वाद र श्रापको श्रृंखला ।
श्रापसँग नकारात्मक र आशीर्वादसँग सकारात्मक शक्ति हुन्छ त ? कि विचार र कार्यबीच संयोग मिलेर परिणाम आएको हो ? झिँगाको श्रापले डिँगो मर्दैन, सतीको श्राप परेकाले होला उन्नति नभएको भन्नेजस्ता उक्ति नेपाली समाजमा व्याप्त छन् । कसको ‘श्राप’ले कुन सजीव प्राणी मर्छ त ? ‘श्राप’ले दाग लगाउँछ वा हानि पु¥याउँछ वा दण्ड दिन्छ ? ‘ज्ञानी’ वा ‘ईश्वर’ले ? हो– कसैको अवचेतन मन वा भनौँ आस्तिक व्यक्तिको चेतनामा भने ‘ईश्वर’ वा ‘ईश्वरको दूत’ वा ‘ईश्वरको आत्मा बसेको’ व्यक्तिको ‘श्राप’ले शक्तिक्षय, पद विस्थापन, सम्पत्तिमा हानि, पारिवारिक कष्ट, विलाप र ‘आशीर्वाद’ले उन्नति, प्रगति र फलिफाप हुन्छ भन्ने कुरा बुझ्न त्यति गाह्रो पर्दैन ।
हिन्दू धर्मशास्त्रमा श्राप भनेको ‘ईश्वरको योजनाअन्तर्गत’ हुन्छ । रामायणमा ६२ र महाभारतमा लगभग एक सय ५० प्रकारका श्रापको चर्चा गरिएको छ । पुराणलगायत हिन्दू धर्मग्रन्थमा अरु धेरै श्रापको चर्चा गरिएको छ भने श्राप, प्रतिश्राप र यसका परिणामको पनि व्याख्या गरिएको छ । हुन त श्रापको व्यवस्था धार्मिक पथमा विचलन आउन नदिन, सामाजिक तथा नैतिक मूल्यमान्यता र नियम कायम गराउन सुरु गरिएको हो भनिन्छ । समाजलाई नियमअनुकूल हिँडाउन नै यो प्रक्रिया अवलम्बन गर्न थालियो भन्ने मत पनि सशक्त नै छ ।
‘श्राप’का कारणले उन्नति र प्रगति भएका प्रमाण पनि छन् । विनाकारण निन्दित वा आरोपित हुनुपर्दा पौरख गर्ने प्रेरणा मिलेको पनि देखिन्छ । ‘श्राप’ पाएपछि जीवन संघर्षलाई नयाँ ढंगले बदल्न नयाँ पद्धति अँगाल्ने र आत्मविश्वास बढाउने गरिन्छ– जसले गर्दा प्रगति हुने अवस्था आउँछ भनेर विद्वान्हरुले भन्ने गरेको पाइन्छ । एउटा कुराचाहिँ निश्चित रूपमा भन्न सकिन्छ कि कसैको कुभलो चिताएर व्यक्त गरिने शब्द र प्रगतिका लागि दिइने शुभेच्छाले ‘श्रापित’ व्यक्तिमा रहेको चेतनास्तर र मनोदशाको अवस्थाजस्ता कुराले सकारात्मक वा नकारात्मक परिणाम ल्याउन सक्छ । मनोविज्ञहरूले यस्तो धारणा व्यक्त गर्ने गरेका पनि छन् । यस विषयमा ‘विचार विज्ञान’ नामक प्रसिद्ध ग्रन्थका लेखक विद्वान् खप्तड स्वामीले विशद् विश्लेषण गरेको पाइन्छ ।
वैदिककालका ऋषि अष्टावक्र गर्भावस्थादेखि नै ज्ञानी थिए भन्ने प्रसंग पौराणिक कथा र इतिहासमा प्रशस्त पाइन्छ । गर्भावस्थादेखि नै मानिसमा चेतनाको सुरुवात हुने भएकाले नै होला– जापानमा गर्भावस्थादेखि नै मानिसको उमेर गणना गर्ने गरिन्छ । अष्टावक्रको गुरुकुलमा राजा जनक दीक्षित भएपछि राजपाठ छाड्ने मनस्थितिमा पुगेका बेला त्यस्तो गर्नु हुँदैन बरु प्राप्त ज्ञानलाई नागरिकको इच्छाबमोजिम लोककल्याणकारी कार्य गर्दै राज्य सञ्चालनमा संलग्न हुन भनी अष्टावक्रले उपदेश दिए र नरेशले त्यसलाई पालना गरेको प्रसंग इतिहासमा पाइन्छ ।
राजा जनकको राज्यमा न दण्ड थियो, न प्रजालाई दण्ड नै दिइन्थ्यो । त्यसैले त्यहाँ ‘न दण्डो न च दण्डितः’ को अवस्था थियो । त्यो एक आदर्शयुक्त शासन व्यवस्था थियो । अष्टावक्रद्वारा दीक्षित राजा जनकसँग बाँकी रहेको घमण्ड र अहंकारलाई त्यागेर समाजकल्याणमा नै आफ्नो शक्ति लगाएकाले उनी अमर बनेका हुन् । ‘श्राप’ दिनु अर्थात् कसैको शरीरको विकलाङ्गता र सामाजिक दागका निम्ति शब्दवाण प्रहार गर्नु उपयुक्त हुँदै होइन । अष्टावक्रप्रबद्र्धित संवादको सन्देश भनेको विमर्शद्वारा मानिस मानिसबीच दूरी घटाएर सद्भाव, मित्रता र एकता सुदृढ तुल्याउनु नै हो । यस अमर सन्देशलाई सर्वत्र फैलाउँदा नै शान्ति र समृद्धि हासिल हुनेछ ।
सङ्कलन तथा सम्पादन/जयराम सापकोटा