Logo

ओली-प्रचण्डबीच वार कि पारको अवस्था, को कता



काठमाडौं, २१ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद वार कि पारको अवस्थामा पुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आ-आफ्नो अडानमा कायमै रहेपछि वार कि पारको अवस्था बनेको हो ।

अध्यक्ष प्रचण्डले सचिवालय बैठक धुम्बाराहीमा डाकेका छन् । उनले ओलीसँग बैठक डाक्न आग्रह गरेपनि नमानेपछि आफैले डाकेका हुन् । प्रचण्डले बैठक डाकेपनि यसलाई ओली पक्षले बहिष्कार गरेको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले यसलाई गुटको भेला भनेका छन् ।

प्रचण्डले डाकेको सचिवालय बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुने भएका छन् । अपरान्ह तीन बजे डाकिएको बैठकमा ओलीसहित, सचिवालय सदस्यहरु इश्वर पोखरेल र रामबहादुर थापा बादलका अलावा महासचिव विष्णु पौडेल अनुपस्थित हुने निश्चित भएको छ ।

सचिवालय बैठकमा प्रचण्ड र माधवकुमार नेपाल पक्षको बहुमत छ । यो समूहमा पाँचजना र ओली पक्षमा चारजना देखिएका छन् । बादलले पनि सरकारमा रहेकाले सचिवालय बैठकमा अनुपस्थिति जनाउने भएका छन् । उनी यसअघि खुमलटारमा डाकिएको प्रचण्ड पक्षीय भेलामा अचानक सहभागी भएका थिए ।

नेकपाभित्र स्थायी कमिटीमा पनि प्रचण्ड माधव नेपाल गुटको बहुमत छ । स्थायी कमिटीका भीम रावल, जर्नादन शर्मा, पम्फा भुषाल, देव गुरुङलगायत यो गुटमा छन् । ओली गुटमा सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल जस्ता हस्तीहरु छन् ।

संसदीय दलमा भने कसैको बहुमत छैन । ओली गुटले बहुमत दाबी गर्दै आएको छ । तर, प्रचण्ड र माधव नेपाल मिल्दा संसदीय दलमा बहुमत पुग्ने दाबी उक्त गुटको छ ।

 



प्रतिक्रिया दिनुहोस्