Logo

नेकपा फुटको संघारमा, ओली र प्रचण्डको फरक तयारी



काठमाडौं, २१ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुम्बाराहीमा आज सचिवालय बैठक डाकेर गम्भीर खुलासा गरेका छन् । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग बिहिबारको भेटबारे ब्रिफिङ गर्दै सचिवालयको बैठक डाकेमा ‘पार्टी फुट्ने’ चेतावनी आएको सुनाए ।

प्रचण्डले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी बैठकमा ओलीले पार्टीलाई फुटतर्फ धकेलिरहेको विषय समेत उठाएको बुझिएको छ । नेकपाभित्र ध्रुवीकरण गराउन खोजेको र फुटाउन खोजिएको प्रसंगहरु प्रचण्डले उठाए । विगतमा ओलीले आ आफ्नो बाटो लागौं भन्ने विषय समेत राखेको प्रचण्डले खुलाइसकेका छन् ।

नेकपाभित्र पार्टी सचिवालय हुँदै आवश्यक परे स्थायी कमिटी र केन्द्रीय कमिटी डाकेर ओलीबाट निर्णय लिने तयारी भएको बुझिएको छ । आफूलाई पार्टी बैठक डाकेर सरकारबाट फिर्ता बोलाउने सम्मको निर्णय गर्न खोजिएको सूचना पाएपछि ओलीले बैठक नडाक्ने र डाकेमा फुटको घोषणा मानिने चेतावनी दिएका छन् ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तयारी विगतमा भएपनि सफल भएको थिएन । यसपटक भने प्रचण्ड र माधवकुमार नेपाल एकतावद्ध भएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव सम्म ल्याउने तयारी गरेका छन् । स्वयंले ओलीले बिहिबार बसेको मन्त्रिपरिषद् बैठकबाट यसको जानकारी पाएको र सामना गर्न तयार भइसकेको खुलाएका थिए । बुधबार ओलीले आफूले कुनै हालतमा राजीनामा नदिने र आफू हटेमा देश बर्बाद हुने अभिव्यत्ति दिएका थिए ।

यसरी ओलीले बरु नेकपा फुटको जोखिम मोल्ने तर प्रधानमन्त्री पद नछाड्ने सन्देश दिएका छन् । उनले प्रचण्डले आ आफ्नो बाटो लागौं भन्नुको अर्थ यही हो । नेकपा अब एक हुननसक्ने निष्कर्षमा ओली पक्ष पुगिसकेको बुझिएको छ । ओलीनिकटस्थ सचिवालय सदस्यहरु इश्वर पोखरेल र विष्णु पौडेलले पनि विभाजनको खतराबारे सामाजिक सञ्जालमा लेखिसकेका छन् ।

नेकपाभित्र ओली हटाउने प्रयास भए विभाजनसम्मको तयारी यसअघि नै भइसकेको छ । निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता छ । ओलीले कुनैपनि बेला नेकपा एमाले ब्युँताउने संकेत विगतमा नै गरिसकेका छन् । उनले यसअघि पनि पार्टी विभाजन सहज बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइसकेका छन् । उक्त अध्यादेश पछि फिर्ता गरिएको थियो । नेकपाभित्र ओली हटाउन खोजिए फेरि अध्यादेश आउनसक्ने सम्भावना रहेको छ । यसकारण पनि नेकपा फुटको संघारमा पुगेको छ ।

अब नेकपामा कस्ले पहिलो कदम चाल्ने भन्नेमात्र बाँकी रहेको छ । फुट रोक्न नसकिने अवस्थामा पुगिसकेको छ । सर्वप्रथम प्रचण्डले पार्टी बैठक डाकेर ओलीबारे निर्णय लिने सम्भावना छ । त्यस अगावै ओलीले पनि निर्णय लिएर अध्यादेश ल्याएर कदम चाल्ने सम्भावना छ । त्यस्तो अवस्थामा माधवकुमार नेपाल र झलनाथ खनालका अलावा वामदेव गौतमले लिने निर्णय महत्वपूर्ण हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्