काठमाडौं, २४ कात्तिक । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। उनलाई ऊर्जा मन्त्रालयले सोमबार नियुक्त गरेको हो ।
अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै नियुक्त भएका शाक्यलाई नै भावी कार्यकारी निर्देशकका रुपमा हेरिएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसार नियुक्त भएका हुन् ।
यसअघि ऊर्जा मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाएको थियो । कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्री ओली अनिच्छुक भएपछि प्राधिकरणमा कार्यकारी निर्देशक झण्डै दुई महिनायता निमित्तबाट चल्दै आएको छ । यसबीच दुईजना निमित्त कार्यकारी निर्देशक नियुक्त भइसकेका छन् ।