ताप्लेजुङ, कार्तिक २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताएका छनु । अन्य जिल्लाको तुलनामा यहाँ बढी अलैँची उत्पादन हुने भएकाले स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको स्थापना गर्न सके जिल्लाबासीलाई फाइदा पुग्न सक्ने उनको भनाई छ।
गृह ताप्लेजुङका विभिन्न गाउँपालिकाको भ्रमणका क्रममा रहेका मन्त्री भट्टराईले त्यहाँ आयोजित कार्यक्रमहरुमा अलैँचीका प्रशोधित सामग्रीले राम्रो बजार पाउने र रोजगारीको समेत सिर्जना हुने भएकाले यसतर्फ सरकारले विशेषरूपमा ध्यान दिने स्पष्ट पारे । ओलाङचुङगोला बाहेक जिल्लाका सबै क्षेत्रमा अलैँची खेती गरिँदै आएको छ भने प्राय किसान यसैको भरमा छन् तर अलैँचीले राम्रो मूल्य नपाँउदा किसानलाई समस्या छ ।
मन्त्री भट्टराईले ग्रामीण क्षेत्रमा सहज यातायातका लागि जिल्लाका सबै पालिकासम्म पुगेका सडकलाई आगामी दुई वर्षमा कालोपत्रे गर्ने बताए । सहज यातायात नहुँदा स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरणमा समस्या हुनुका साथै सर्वसाधारणले समेत यातायातको भरपर्दो सुविधा उपभोग गर्न नपाउने भएकाले आगामी दुई वर्षभित्रै सबै पालिकाको केन्द्रसम्म पुग्ने सडकलाई कालोपत्रे गरिने उनको भनाइ थियो । यसले पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।