काठमाडौँ, २५ कार्तिक। लगातार बढेको सुनचाँदीको मूल्यमा गिरावट आएको छ । कार्तिक २५ गते, मंगलबार सुनको मूल्य तोलामा तीन हजार ४०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । केहि समययता सुनको मूल्यले उचाइं पाइरहेको थियो । यद्यपी मंगलबार भने सुन घटेको हो । पछिल्लो एक सातामा सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले वृद्धि भएको थियो । सोमबार सुनको मूल्य साताकै उच्च रही प्रतितोला ९८ हजार २०० रुपैयाँ तोकिएको थियो ।
यसैगरी चाँदीको भाउ पनि मंगलबार तोलामा ७० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन सोमबार चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँमा किनबेच भएको थियो ।-मेरोलगानी/File Photo