Logo

कोभिड–१९ भ्याक्सिनको आशामा विश्व शेयर बजारमा उछाल



एजेन्सी , २५ कार्तिक। कोभिड–१९ विरुद्धको भ्याक्सिनको सम्भावित सफलताको आशासँगै विश्व शेयर बजारमा उछाल देखिएको छ ।

ड्रग्स फर्म फाइजरले प्रारम्भिक विश्लेषणमा आफूले निर्माण गरिरहेको कोरोना भाइरस विरुद्धको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएसँगै उक्त कम्पनीको शेयरमा ९ प्रतिशतको बढोत्तरी देखियो ।

अमेरिकी राष्ट्रपतिको चुनावी नतिजा स्पष्ट रुपमा सार्वजनिक हुनुभन्दा पहिले नै एफटीएसई १०० ले करिब ५ प्रतिशतको छलाङ लगायो ।

तर सुरुवाती क्रममा आशावादी रहेका केही शेयरहरु भने कारोबार सत्रको अन्त्यसँगै केही सीमित हुन पुगे ।

अमेरिकामा डउ जोन्स इन्डस्ट्रियल एभरेजमा सुरुवाती कारोबारका क्रममा ५.६ प्रतिशतसम्म बढोत्तरी देखियो तर कारोबार बन्द हुदाँ ३ प्रतिशतको बढोत्तरीमा सीमित हुन पुग्यो ।

यसैगरी एसएण्डपी ५०० सूचक पनि सुरुवाती कारोबारको उछालबाट पछि हट्दै १.१ प्रतिशतको बढोत्तरीमा बन्द भयो ।

यसैबीच लकडाउनमा अधिक लाभ उठाएका प्रविधि कम्पनीहरुको वर्चस्व रहेको नास्डाक सूचक १.५ प्रतिशतसम्म घट्यो ।

एशियाली शेयर बजारमा बढोत्तरी कायम

सोमबार सुरुवाती कारोबारका क्रममा २९ वर्षयताकै उच्च स्तरमा पुगेको जापानको निक्केई २२५ सूचकमा १.१ प्रतिशतको बढोत्तरी देखियो । यसैगरी अस्ट्रेलियाको शेयर १.६ प्रतिशतले बढ्यो ।

हङकङको एचएसआई सुरुवाती कारोबारका क्रममा १ प्रतिशतले बढ्यो तर चीनको सीएसआई३०० सूचकमा ०.२४ प्रतिशतको गिरावट देखियो ।

यसैगरी जापान बाहिरको एशिया–प्यासिफिक शेयर ०.१२ प्रतिशतले बढेको छ ।-मेरोलगानी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्