Logo

२९६ छात्रालाई महानगरद्वारा साइकल वितरण



भरतपुर, २५ कात्तिक: भरतपुर महानगरपालिकाले विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको छ । महानगरका वडा नं १७, २४, २५, २६, २७ र २८ का १६२ जनालाई महानगर प्रमुख रेनु दाहालले सोमबार साइकल वितरण गरेकी हुन् ।

भरतपुर महानगरपालिकाले पश्चिम चितवनका १३, १४, २२, २३, २४ वडाका १७ विद्यालयका १३५ जना विद्यार्थीलाई यसअघि नै साइकल वितरण गरेको थियो । हालसम्म महानगरले २९६ वटा साइकल वितरण गरेको छ । महानगरले १२ वटा वडाका कुल ३३० छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ ।

जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल हस्तान्तरण गरिएको हो । कोभिडका कारण अघिल्लो आर्थिक वर्षमा साइकल हस्तान्तरण गर्न नसकिएकाले यसपटक साइकल हस्तान्तरण गरिएको महानगर प्रमुख दाहालले बताईन् ।

महानगर प्रमुख दाहालले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको जानकारी दिईन् । महानगरका आधारभूत विद्यालयलाई ल्यापटप वितरण गर्ने तयारी थालेको र सबै विद्यालयमा इन्टरनेटको प्रबन्ध यही वर्षमा गरिने उनको भनाइ छ । महानगरभित्रका सरकारी विद्यालयको शैक्षिकस्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको उनले बताईन् । एक सय २३ सामुदायिक विद्यालयमध्ये ६० वटा विद्यालयको भौतिक संरचना निर्माण अहिले महानगरले गरिरहेको दाहालले जानकारी दिईन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्