Logo

विहार चुनावमा नितिश नेतृत्वको गठबन्धन बहुमततर्फ बढ्दै



एजेन्सी, २५ कात्तिक । विहान विधानसभा चुनावको पछिल्लो मतगणनामा वर्तमान मुख्यमन्त्री नितिशकुमार नेतृत्वको गठबन्धन बलियो अवस्थामा देखिएको छ । उक्त गठबन्धन बहुमत सिट जित्ने सम्भावनाका साथ अगाडि देखिएको छ ।

कुल २ सय ४३ सिटमध्ये नितिशको दल जनता दल युनाइटेड र भारतीय जनता पार्टीले ४१ सिटमा जित र ८४ सिटमा अग्रतासहित एक सय २५ सिट जित्ने सम्भावना देखिएको छ । यो बहुमतका लागि एक सय २२ सिटभन्दा केही बढी हो ।

नितिशलाई लालु यादवका छोरा तेजस्वी यादवको दल राष्ट्रिय जनता दलसहित कँग्रेस आईको गठबन्धनले कडा चुनौती दिइरहेको छ । मतगणनाको परिणाम अनुसार उक्त गठबन्धनले १ सय ११ सिट जित्ने सम्भावना देखिएको छ । ३७ सिटमा जित हासिल गरिसकेको छ ।

विहार चुनावमा लालु यादवका छोरा तेजस्वी यादव र तेज प्रताप दुवै विजयी भएका छन् । विहारका पूर्व मुख्यमन्त्री जीतनराम माझी पनि जितेका छन् ।

कोरोना भाइरसको महामारीका बाबजुद विहारमा विधानसभा चुनाव भएको हो । यो चुनावलाई सत्तारुढ भाजपाको कोरोना भाइरसको महामारीपछिको परीक्षाका रुपमा समेत हेरिएको छ । चुनावी परिणामले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अझै बलियो अवस्थामा रहेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्