Logo

दुई महिला बेचेको अभियोगमा तीन जना पक्राउ



कास्की, २८ कात्तिक । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बैदेशिक रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकम समेत आफैले उपलव्ध गराईदिने भन्दै २ जना महिलाहरूलाई बिभिन्न प्रलोभनमा पारी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कास्की मादी गाउँपालिका–१ खेलुङका २१ वर्षीय जीवन नेपाली, काभ्रे पाँचखाल नगरपालिका–४ तामाघाटका २६ वर्षीय आशिष भुजेल र कास्की पोखरा महानगरपालिका–४ बगालेटोलका ३० वर्षीया अन्जु गुरुङ रहेका छन् ।

उनीहरूले ती महिलाहरूलाई पोखरा महानगरपालिका–६ लेकसाईडस्थित कोठामा बन्धक बनाई जबरजस्ती बेश्याबृतिमा संलग्न गराउने उद्देश्यले शारीरिक तथा मानसिक यातना दिएको साथै रकमको मोलमलाई गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताएको छ ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत ८ दिनको म्याद थप गरी अनुसन्धान भईहेको साथै पीडित महिलाहरुलाई मनोपरामर्श गरी संरक्षण केन्द्रमा राखी आफन्तको जिम्मा लगाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्