काठमाडौं, कार्तिक २९ । तिहार अहिले केवल सांस्कृतिक पर्वको पाटो मात्र रहेको छैन:
आर्थिक, व्यापारिक कारोबारका निम्ति अधीर प्रतीक्षाको अवसर पनि बनेको छ । उज्यालोको मेला, फूलको रौनक, आनन्दको उत्सव र सद्भावनाको प्रतीक पर्व हो– तिहार । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया तिथिसम्म धूमधामसाथ मनाइने तिहारलाई दीपावली, दीवाली तथा यमपञ्चक पनि भनिन्छ ।
तिहारको एक नाम ‘सुखरात्रि’ पनि हो । शास्त्रमा वर्षभरिका रात्रिमध्ये चारवटालाई विशेष मानिएको छ । ती हुन्– महाशिवरात्रि, मोहरात्रि, कालरात्रि र सुखरात्रि । भगवान् शिवको उत्पत्ति भएको फाल्गुण कृष्ण चतुर्दशीको रात्रि महाशिवरात्रि, भाद्र कृष्णपक्षको अष्टमी तिथिको रात्रि अर्थात् भगवान् कृष्णको जन्माष्टमी रात्रि मोहरात्रि, आश्विन शुक्ल पक्ष, महाष्टमीको रात्रि कालरात्रि र कार्तिक औँसीको रात्रि सुखरात्रि हो । महालक्ष्मीको पूजा गरिने रात्रिलाई सुखरात्रि भन्दछन् । समुद्र मन्थनका बखत यही दिन महालक्ष्मी प्रकट भएको पौराणिक वर्णन छ ।
कागतिहारदेखि भाइतिहारसम्म मनाइने यमपञ्चकले धार्मिक÷सांस्कृतिक, सामाजिक, पारिवारिक परम्परा निर्वहन गर्दै मानवीय मूल्य र मान्यत९ालाई सर्वोपरि राखेको पाइन्छ । कृषिप्रधान नेपालमा बाली भिœयाइएपछि हर्षोल्लासपूर्वक मनाइने तिहारले यहाँको सामाजिक, आर्थिक पाटोलाई पनि दर्शाएको छ ।
नेपालमा मनाइने यो दीपोत्सव ‘तिहार’ अन्यत्रको तुलनामा उल्लेखनीय छ । शरद ऋतुमै पर्ने बडादशैँ जस्तै तिहार पनि नेपालको राष्ट्रिय महान् चाड हो । हिन्दु धर्मावलम्बीमा मात्र सीमित नरहनु यहाँका दशैँ, तिहारको वैशिष्ट्य बनेको छ । विभिन्न धर्म, जात, जाति, समुदायका मानिसद्वारा मनाइने तिहारले यहाँको धार्मिक, सामाजिक सद्भाव मात्रै प्रकट गरेको छैनस परम्परागत सौहार्द, बन्धुत्व र अद्वितीयताको चिनारी पनि दिएको छ ।
तिहार संस्कृतिले देशभित्र तथा बाहिर रहेका नेपालीलाई एक–अर्कासँग नजिक्याउन र बन्धुत्वको साइनुमा गाँसिन निकै सघाएको छ । भारत, म्यानमार, हङकङ, थाइल्यान्ड, अमेरिका, बेलायत, जापान, अस्टे«लिया आदि देशमा समेत तिहार गुञ्जायमान हुनुले यसको विलक्षणता जनाएको छ ।
‘गुञ्जन’ तिहारको अपरिहार्य, सुमधुर, सौष्ठव हो । पहाड, हिमाल, मधेस÷तराई यत्रतत्र गुञ्जँदै आएको ‘भैली’ र ‘देउसी’ ले मुग्लानपारि त उहिल्यैदेखि गगन घन्काएकै हुन्, अहिले सात समुद्रपारि समेत ‘भन भन भाइ हो’ मा नरमाउने बिरलै भेटिन्छन् । नाचगान र रमाइलो गरी भैली, देउसी गाउनु÷भट्याउनुको रोचकता र मोहकता आफ्नो ठाउँमा छँदै छस भैली गाउने, देउसी गाउने नभनी भैली खेल्ने, देउसी खेल्ने परम्परागत भनाइले बेग्लै सौरभ पनि दिएको छ ।
हे औँसीबार, गाईतिहार – भैलो १
भैलिनी आइन् आँगन
गुनिउँ चोलो माग न
बढारी कुढारी राख न
हे औँसीबार, गाईतिहार – भैलो १
भनभन भाइ हो – देउसी रे
यसै घरमा – देउसी रे
लछिमीले सधैँ – देउसी रे
बासै गरून् – देउसी रे
गोरखापत्र दैनिकबाट