लमजुङ, ३० कात्तिक: घरेलु तथा साना उद्योग कार्यालयले चार उद्योग खारेज गरेको छ । लामो समयसम्म नवीकरण तथा सञ्चालन नगर्ने उद्योगलाई चालुआर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा खारेज गरेको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख तोपलाल भुषालले उद्योग दर्ता गरेको धेरै समय तथा सञ्चालन समेत नगरेका उद्योगलाई खारेज गरिएको जानकारी दिए । उनका अनुसार चालु आवको चार महिनाको अवधिमा ३०५ नयाँ उद्योग दर्ता भएको छन् । एकसय तीस उद्योग नवीकरण भएको छ । त्यस्तै यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६-२०७७ मा ११ वटा उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता भएको थियो भने २३७ वटा उद्योगको नवीकरण भएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७५-२०७६ मा ६ वटा उद्योग खारेज भएको उक्त कार्यालयले जनाएको छ । त्यस्तै यस आर्थिक वर्षमा ४६८ वटा नयाँ उद्योग दर्ता भएको र २७० वटा उद्योगको नवीकरण भएको थियो । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷२०७५ मा १० वटा उद्योग खारेज गरेको थियो । २७६ वटा नयाँ उद्योग दर्ता र १६४ वटा उद्योग नवीकरण भएको कार्यालयको तथ्याङ्कमा छ । आर्थिक वर्ष २०७३÷२०७४ मा आठ उद्योग खारेज भएको थियो । सो आर्थिक वर्षमा २०९ वटा नयाँ उद्योग दर्ता भएको र १७३ उद्योगको नवीकरण भएको थियो ।
त्यस्तै वाणिज्यतर्फ चालुआवको चार महिनाको अवधिमा १२ वटा वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । कार्यालयका अनुसार २१२ नयाँ वाणिज्य दर्ता भएको र २१६ वटाको नीवकरण भएको छ । अघिल्लो आवमा २५ वाणिज्य दर्ता खारेज भएको जनाइएको छ । यसैगरी ७६२ वटा नयाँ दर्ता र ३२० को नवीकरण भएको थियो । आर्थिक वर्ष २०७५÷२०७६ मा २३ वाणिज्य दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ४१४ नयाँ वाणिज्य दर्ता र ४५८ को नवीकरण भएको थियो । आर्थिक वर्ष २०७४-२०७५ मा ३१ वाणिज्य दर्ता खारेज भएको थियो भने, २१० नयाँ दर्ता र २६४ को नवीरण भएको कार्यालयले जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०७३-२०७४ मा भने एक वटा वाणिज्य दर्ता पनि खारेज नभएको कार्यालय प्रमुख भुषालले जानकारी दिए । सो आर्थिक वर्षमा २२७ नयाँ वाणिज्य दर्ता र २८६ वटाको नवीकरण भएको थियो । चालुआवको हालसम्म दर्ता खारेज भएका सबै उद्योग तथा वाणिज्य कोभिडले सञ्चालनमा समस्या आएकाले सञ्चालन गर्न नसकेको जनाइएको छ । सोही समस्याले नवीकरण गर्न नआएको उनीहरुको भनाई रहेको घरेलु कार्यालयले जनाएको छ ।-रासस/File Photo