तनहुँ,१ मङ्सिर: नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा व्यास नगरपालिका–१० ले शुरु गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग आउने क्रम जारी छ । ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ सोसाइटीले यो अभियान थालेको हो ।
विभिन्न सङ्घसंस्था र व्यक्तिहरुबाट सामुदायिक एम्बुलेन्स खरिदका लागि हालसम्म रु सात लाख ४० हजार सहयोग रकम जुटिसकेको उपशाखा सभापति रामदत्त पौडेल बताए । सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि हालसम्म अधिकतम सहयोग गर्ने व्यास–१० दुम्सीकोट निवासी अन्जु गिरी क्षेत्रीले रु ५० हजार ११५ सहयोग गरेका छन् ।
सोसाइटी थालेको सो अभियानमा व्यक्तिदेखि सङ्घसंस्थाहरु खुलेर सहयोगमा जुटेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । पछिल्लो समय विदेशमा रहेका नेपालीले समेत यस पुण्य कार्यमा सहयोग गर्दै आएको बताइएको छ । गत भदौ १९ गतेदेखि रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा एम्बुलेन्स खरिदको लागि अभियान थालेको हो ।-रासस/File photo