Logo

ओलीको सन्देश बोकेर पौडेल खुमलटारमा



काठमाडौं, २ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गतिरोध अन्त्यको लागि नेताहरुले दौडधुप गरिरहेका छन् । सचिवालय बैठक भोलिको लागि तय भएको छ । तर, भोलिको बैठक बस्छ वा बस्दैन ? भन्नेबारे अझै एकिन छैन् । आजमात्रै महासचिव तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका छन् ।

महासचिव पौडेलले पार्टीभित्र पछिल्लो समय देखापरेको गत्यावरोध अन्त्यको लागि सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएको स्रोतको दाबी छ । यसअघिको सचिवालय बैठकमा दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनलाई लिएर सचिवालय सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले आफूहरुको सहमतिमै प्रस्ताव आएको भनेर अपनत्व लिईसकेका छन् ।

तर, ओली पक्षले भने उक्त प्रस्तावमाथि छलफल हुनै नसक्ने टिप्पणी गरेको छ । प्रस्ताव फिर्ता लिएमात्रै बैठक बस्ने नत्र नबस्ने भनेर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक रुपमै टिप्पणी गरेका छन् । तर, अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षले भने बैठक कुनैपनि हालतमा नरोकिने स्पष्ट पारेको छ । FILE PHOTO/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्