विराटनगर, ४ मङ्सिर: प्रदेश नं १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरूपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारीमा सामाजिक विकास मन्त्रालय जुटेको छ ।
अनलाइन कक्षाले समेट्न नसकेका तथा कोरोना प्रभावित क्षेत्रका विद्यार्थीलाई लक्षित गरी मन्त्रालयले सिकाइलाई निरन्तरता दिने उद्देश्यले ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गर्न लागेको हो । पहिलो चरणमा छ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम शुरु गर्ने तयारी गरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताए ।
धनकुटाको पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु र गढी गाउँपालिका, झापाको कचनकवल र कमल गाउँपालिका तथा मोरङको केराबारी गाउँपालिकामा सम्झौता भइसकेको निर्देशक बुढाथोकीले बताए । मोरङको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकामा सम्झौता गर्न बाँकी रहेको उनले बताए ।
नेपाल टेलिकमको पाठशाला (क्लोज युजर ग्रुप) सियुभी सिम मार्फत विद्यार्थीलाई सिकाउन लागिएको शिक्षा निर्देशक बुढाथोकीको भनाइ छ । विद्यार्थी र शिक्षकले मात्र प्रयोग गर्न मिल्ने सियुजी सिममा रु १२९ ले एक महिना पुग्ने उनले बताए। निर्देशक बुढाथोकीका अनुसार विद्यार्थीका लागि सित्तैमा सिम दिइने र तीन महिनाका लागि शिक्षक र विद्यार्थीको सिममा ब्यालेन्सको व्यवस्था गरिने छ ।
नेपाल सरकारको सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार इन्टरनेट, टिभी र कम्प्युटरको सुविधा नभएका विद्यार्थीका लागि सिम र रिचार्जको व्यवस्था गरिने बताइएको छ । स्थानीय तहका २५० शिक्षक र ५०० विद्यार्थीको कोटा निर्धारण गरिएको छ । रिचार्ज गर्नुपर्ने विद्यार्थीको विवरण स्थानीय तहले तयार गर्ने निर्देशक बुढाथोकीले जानकारी दिए । उनका अनुसार विद्यार्थी छनोट गर्दा गरिबभित्रको पनि गरिबलाई छनोट गर्नुपर्ने छ । विद्यार्थीलाई पुस्तक वितरण गरिसकिएको र अभिभावकको मोबाइलमा सिम र रिचार्ज गर्नाले कार्यक्रम प्रभावकारी बन्ने शिक्षा निर्देशनालयको विश्वास छ । अभिभावकको मोबाइल हुने हुँदा विद्यार्थीको पठन पाठनबारे अभिभावकसँग पनि जानकारी लिन सकिने बुढाथोकीले बताए ।
अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीका लागि टेलिफोनबाट सिकाउने गरी कार्यक्रम तयार गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । कोरोनाको सङ्क्रमण कहिलेसम्म भन्ने यकिन नभएकाले पठनपाठन कार्यलाई अघि बढाउन मन्त्रालयले टेलिफोनबाट शिक्षण सिकाइ शुरु गर्ने तयारी गरेको उनले बताए । ‘हेल्लो विद्यार्थी कार्यक्रम’का लागि सामाजिक विकास मन्त्रालयले रु एक लाख ५० हजार र स्थानीय तहले रु एक लाख व्यहोर्ने छन् ।-रासस/File Photo