वीरगञ्ज, मंसिर ५। सरकारले कोरोना नियन्त्रणका लागि अन्तरराष्ट्रिय सिमानाबाट हुने आवागमनमा लगाएको रोक अहिलेसम्म औपचारिक रूपमा हटाएको छैन । तर, मुख्य नाका वीरगञ्जबाट मानिसको आउजाउ भने बाक्लै हुने गरेको छ ।
वीरगञ्ज रक्सौल मितेरी पुलबाट दिनहुँ सयौं मानिसको आवागमन भइरहेको छ । सिमानामा खटिएका सुरक्षाकर्मीले मानिसको आवतजावत रोक्न सकेका छैनन् ।
गत भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले कात्तिक ३० गतेसम्म अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने निर्णय गरेको थियो । सरकारले आयातनिर्यात व्यापार र अत्यावश्यक अवस्थामा मापदण्ड पूरा गरेर ११ ओटा नाकाबाट मानिसको आवागमन अनुमति दिएको थियो ।
मङ्सिरयता आवागमन के हुने भन्नेबारेमा सरकारले कुनै निर्णय लिएको छैन । मानिसको आवागमन मापदण्डको पूर्ववत् व्यवस्था कायमै रहेको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘आवागमनलाई कसरी व्यवस्थित बनाउने भन्नेबारेमा गृह मन्त्रालयसित सुझाव मागिएको छ । सिमानाबाट हुने आउजाउ व्यवस्थित बनाउन छठ पर्वलगत्तै नयाँ व्यवस्था लागू हुन्छ,’ प्रमुख जिल्ला अधिकारी तामाङले भने ।
सरकारले भारतबाट नेपाल प्रवेश गर्ने नेपाली, औषधोपचार, औद्योगिक प्रतिष्ठान र निर्माण आयोजनाका कर्मचारीलाई ल्याउन मापदण्ड बनाएको छ । तोकिएको प्रक्रिया पु¥याएर प्रवेश अनुमति दिने व्यवस्था छ ।
भारतले गत कात्तिक ६ गतेदेखि नेपालतर्पmका सिमाना खुला गरेपछि नेपालको मुख्य नाका वीरगञ्जबाट आवागमन बाक्लिएको हो । सिमानामा खटिएका सुरक्षाकर्मीले आउजाउमा नियन्त्रण गर्न सकेका छैनन् । रोक्न खोज्दा स्थानीयसँग विवादसमेत हुने गरेको सुरक्षाकर्मी बताउँछन् ।
वीरगञ्ज नाका कागजमा मात्र बन्द हुँदा स्थानीय र सुरक्षाकर्मी दुवैलाई सकस भएको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता बताउँछन् । औपचारिक रूपमा आउजाउ नखोल्दा स्थानीय र सुरक्षाकर्मी दुवै पक्षलाई समस्या भएको छ ।
भारततर्फको सिमाना खुला भएपछि नेपालबाट पनि जानेआउने क्रम बढेको वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले बताए । ‘वीरगञ्जमा कोरोना नियन्त्रणमा आइसकेकाले अब अन्तरराष्ट्रिय सिमानाबाट आवागमनमा समेत सहज मापदण्ड बनाउनुपर्छ,’ प्रमुख सरावगीको भनाइ छ ।
मानिसको आवागमन बढे पनि सवारीसाधनलाई प्रवेश नदिइएको सरावगीले बताए । सवारीसाधन आवतजावतमा रोक लगाउँदा ओर्लिएर हिँड्नु परेको र यसबाट भीडभाड बढेर संक्रमणको जोखिम झन् वृद्धि भएको गुनासो गुप्ताको छ ।
अत्यावश्यकीय कामले आउजाउ गर्नेलाई समेत समस्या भएको उनले बताए । नियमनको सरल र व्यावहारिक मापदण्ड बनाएर सिमाना खुलाउनुपर्ने स्थानीयको माग रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।