Logo

लागुऔषध सहित पक्राउ



काठमाडौं, ५ मंसिर । अवैध लागुऔषध सहित २ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–१५ हेल्दुबारीबाट ११ ग्राम ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, ८१ हजार १ सय रुपैयाँ र १ सय १० भारतीय रुपैयाँ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका बिष्णु राजबंशी र पानबस्तीका १८ वर्षीय किशोर रहेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले बा.३८ प ३८८५ नम्बरको मोटरसाईकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको जानकारी दिएको छ ।

यस्तै, बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारस्थित निसी भलकोट सन्दिप गेष्ट हाउसको १ नम्बर कोठाबाट करिब १० किलो अवैध लागूऔषध जस्तो देखिने कालो पदार्थ बिहीबार साँझ प्रहरीले बरामद गरेको छ ।

उक्त गेष्ट हाउसमा कात्तिक २६ गतेदेखि बस्दै आएकी रुकुम महिकोट गाउँपालिका–२ घर भएकी २८ वर्षीया रमिता घर्ती मगर सम्पर्क विहिन भएपछि ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले कोठाको ढोकाको चाबी फुटाई हेर्दा उक्त पदार्थ फेला पारी बरामद गरेको जनाएको छ । हाल फरार रमिताको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्