Logo

देउवाले प्रचण्डसँग लिए बदला



काठमाडौं, ७ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नराम्रो झड्का दिएका छन् । देउवाले प्रचण्डलाई विगतमा धोकाधडी गरेको भन्दै झड्का दिएका हुन् ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता ढाल्न खोजेको तीनपटक भइसकेको छ । वैशाखमा त ओलीसँग प्रचण्डले राजीनामा नै मागेका थिए । अविश्वासको प्रस्तावको तयारी नगरेका होइनन् । तर, ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी विभाजनसम्मको रणनीति चाले । देउवाको साथ पनि ओलीलाई नै हुने सम्भावना भएपछि प्रचण्ड पछि हट्नुपरेको थियो ।

अहिले फेरि देउवाले ओलीलाई नै साथ दिने संकेत दिएका छन् । नेकपाभित्र विवाद चर्कदै जाँदा ओलीले देउवासँग मिलेर जाने विकल्प राखेका छन् । यस्तो अवस्थामा सत्ता छाड्नुपरेमा ओलीले पार्टी विभाजनसम्बन्धी अध्यादेशको विकल्प राखेका छन् । देउवाको साथ पाएमा अध्यादेश संसदबाट पारित हुन्छ ।

कथंकदाचित् अविश्वासको प्रस्ताव संसदमा पेश भएमा पनि देउवाको साथ पाएमा ओलीको सत्ता जोगिनसक्छ । नेकपाभित्र ओलीको संसदीय दलमा बहुमत नभएपनि कम्तिमा ४० प्रतिशत सांसद साथमा छन् । देउवाको साथ भएमा ओली प्रतिनिधिसभामा बहुमतमा पुग्नेछन् । त्यतिबेला सत्ता समिकरण बदलिएर ओली र देउवाबीच सत्ता समिकरण बन्नसक्छ । यही सम्भावनाले प्रचण्ड झस्किएका छन् ।

यसपटक देउवाले प्रचण्डलाई भन्दा ओलीलाई साथ दिने छाँटकाँट देखिनुमा विगतको घटना कारण छ । देउवा प्रचण्डसँग चिढिएका छन् । यसअघि भएको स्थानीय चुनावमा देउवा र प्रचण्डबीच गठबन्धन बनेको थियो । संसदीय चुनावमा पनि मिलेर जानेबारे कुराकानी भएको थियो । तर, स्थानीय चुनावमा फाइदा लिएर प्रचण्डले ओलीसँग हातेमालो गरे । यसले देउवालाई नराम्रो झड्का दियो ।

देउवा पार्टीभित्र पनि आलोचित भए । प्रचण्डकी छोरी रेणु दाहालको चुनाव प्रचारमा भरतपुर सम्म पुगेको र जित्ने सम्भावना भएका आफ्ना उम्मेदवारलाई भरतपुर महानगरपालिकामा पछि हट्न वाध्य पारेका देउवाले प्रचण्डबाट धोका पाए । ओलीसँग मिलेर प्रचण्ड चुनाव लडे । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्ने भनी संसदीय चुनाव गठबन्धन बनाएर लडे । दुवै दलको मिलाएर बहुमत पनि आयो । यसपछि देउवा निकै कमजोर भए ।

देउवाले त्यसपछि प्रचण्डसँग भेट्न पनि चाहेनन् । बल्लबल्ल भएको भेटमा पनि उनले प्रचण्डलाई हप्काए । देउवा बरु ओलीसँग भित्री रुपमा मिलेर अगाडि बढे । कतिपय नियुक्तिमा आफ्नो हिस्सा पनि लिएर ओलीलाई साथ दिइरहे । प्रचण्डलाई अहिले विगतमा देउवालाई एक्लो पारेर ओलीसँग मिल्ने कदम भारी परेको छ । देउवाले प्रचण्डसँग विगतको बदला लिइरहेका छन् । जसको फाइदा ओलीले लिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्