काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आएको एकपछि अर्को सत्ता संकट चतुर्याईका साथ टार्न सफल हुँदै आएका छन् । उनले विगतमा दुईपटक सत्ताबाट हटाउने आफ्नै दल नेपाल कम्युनिस्ट पार्टीभित्रबाट आएको चुनौतीलाई चतुर्याइका साथ असफल पारिदिए । यसपटकको प्रयासलाई पनि उनले विफल पार्न विभिन्न रणनीति चाल्न थालेका छन् ।
ओलीले कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् । पार्टीभित्र कुनैपनि बेला आफूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय हुनसक्ने बुझेरै विभिन्न विकल्प तयार गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी कमिटी सदस्य भीम रावलले आइतबार गृह क्षेत्र पुगेर ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय हुनसक्ने बताइसकेका छन् । ओली यो सम्भावनाबारे जानकार भएरै विकल्प तयार गरेका हुन् ।
यसपटक ओलीले सत्ता ढाल्न खोजिए नेपाली काँग्रेसको साथ लिन खोजेका छन् । त्यसका लागि काँग्रेस सभापति शेरबहादुर देउवासँग राजनीतिक लेनदेनको कुरा गरिसकेका छन् । देउवालाई संवैधानिक नियुक्तिमा लेनदेन मिलाएर साथ लिने ओलीको रणनीति देखिदैछ । शनिबार देउवासँग तीन घन्टा बालुवाटारमा बैठक बसेर ओलीले पार्टीभित्रका विरोधीलाई रक्षात्मक बनाइदिएका छन् ।
संसद बिघटन गरी मध्यावधिको घोषणाको तयारी पनि ओलीको छ । उनले त्यसका लागि निकटस्थसँग परामर्श गरिसकेका छन् । तर, विश्वासपात्रहरुले त्यस्तो कदम नचाल्न सुझाव दिएको बुझिएको छ । सत्ता छाड्ने वाध्यकारी अवस्था आउन लागेमा ओली संसद बिघटनको कठोर कदम चाल्न समेत तयार हुने देखिएको छ । मध्यावधि चुनाव गर्न एक वर्ष लागिहाल्ने र त्यो अवधिसम्म सरकार तीन वर्ष पूरा भइसक्नेछ । प्रचण्डलाई सत्ताको साँचो बुझाउनुभन्दा कठोर कदम चाल्ने ओलीको तयारी छ ।
संकटकाल घोषणा पनि ओलीको विकल्पमा परेको छ । देशमा कोरोना भाइरसको महामारी बढिरहँदा संकटकाल घोषणा संविधान अनुसार गर्न मिल्छ । त्यस्तो अवस्थामा ओलीको सत्ता संकट टर्नसक्छ । यी विकल्पमा जानु नपर्ने हो भने ओलीलाई प्रचण्डलगायत नेकपाका विरोधी नेताहरुले प्रधानमन्त्रीमा नहटाउने गरी कुनै सहमति खोज्नुपर्ने हुनसक्छ ।
यसअघि पनि ओलीले दुईपटक सत्ता संकट टार्न बामदेव गौतमको साथ लिएका थिए । गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेर तरंग ल्याइदिए । उनले आफूमाथिको घेराबन्दी तोडेका थिए । दोस्रोपटक गौतमलाई सांसद बनाएर उपप्रधानमन्त्री बनाउने प्रस्ताव पनि सारेका थिए । बामदेवले छ बुँदे सहमति प्रस्ताव ल्याएर ओलीविरुद्धको मोर्चालाई कमजोर पारिदिए । तर, उनलाई सरकारमा लाने सहमति कार्यान्वयन भएन । अहिले ओली वामदेवलाई सरकारमा लगेर भएपनि घेराबन्दी तोड्ने प्रयासमा छन् । तर, गौतम यसपटक सम्झौता नगर्ने पक्षमा पुगेका छन् । यसकारण ओलीले पार्टीबाहिर गएर या कठोर कदम चालेर सत्ता संकट टार्न खोजेका छन् ।