काठमाडौं, ८ मंसिर । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणको मिति तय भएको छ । नेपालस्थित् भारतीय दूतावासले जारी गरेको विज्ञप्तीअनुसार भारतीय सचिव श्रृंगलाले यही मंसीर ११—१२ मा नेपालको औपचारिक भ्रमण गर्नेछन् । विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात नेपालका लागि उनको यो पहिलो भ्रमण हो ।
विज्ञप्तीमा भनिएको छ,‘यो भ्रमण भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता अनुरुप रहेको छ । भ्रमणको क्रममा विदेश सचिवले आफ्नो समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल गर्नु हुनेछ ।’ भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्वपूर्ण हुने जनाईएको छ ।