काठमाडौं, ९ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्षका लागि दुईजना उद्योगीव्यवसायीको दौडधुपले गति लिएको छ । वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानबीच राजनीतिक दलका नेता देखि प्रभावशाली उद्योगीव्यवसायीलाई भेट्न दौडधुपमा व्यस्त छन् । आफ्नो पल्लाभारी बनाउन उनीहरुले शक्तिकेन्द्रहरुको समर्थन लिन सक्रियता बढाएका हुन् ।
कोरोना महामारीका कारण थिलथिलो भएको उद्योगव्यवसाय क्षेत्रमा नयाँ जीवन भर्नुपर्ने चुनौतीका बीच ११ देखि १३ मंसिरसम्म हुने महाधिवेशनले भावी नेतृत्वको ढोका खोल्नेछ । वरिष्ठ उपाध्यक्ष बनेर भावी नेतृत्व सुनिश्चित गर्न ढकाल र प्रधान सक्रिय भएका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले दुवैजनाले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।
महासंघका पूर्व अध्यक्षहरु र वर्तमान अध्यक्ष भवानी राणा भने सहमतिको प्रयासमा छिन् । उनले हिजो वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरु चन्द्र ढकाल र किशोर प्रधानलाई सँगै राखेर छलफल गरेपनि सहमति बन्न सकेन । ढकालले आफू चुनावमा जान तयार भएको स्पष्ट जवाफ दिएपछि कुरा मिल्न नसकेको छ । चुनाव नगरी सहमतिबाट वरिष्ठ उपाध्यक्ष बनाउने प्रयास भएपनि ढकाल आफ्नो पल्लाभारी भएको देखेर चुनावी प्रक्रियाबाटै वरिष्ठ उपाध्यक्ष बन्न सक्रिय भएका छन् ।
चन्द्र ढकालको पक्षमा पूर्व अध्यक्षहरु चण्डीराज ढकाल र सुरज वैद्य खुलेर देखिएका छन् । किशोर प्रधानको पक्षमा पूर्व अध्यक्षहरु कुशकुमार जोशी, बिनोदबहादुर श्रेष्ठ, पशुपति मुरारका देखिएका छन् । महासंघका हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा पनि प्रधानको पक्षमा छन् । उनीहरु प्रधानको घोषणासभामा सहभागी थिए ।
महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा २९ चैतपछि स्वतः अध्यक्ष हुनेछन् । त्यसपछि अर्को कार्यकाल अब चयन हुने वरिष्ठ उपाध्यक्षमध्येबाट हुनेछन् । त्यसैले चन्द्र ढकाल र किशोर प्रधान वरिष्ठ उपाध्यक्ष बन्न सक्रिय भएका हुन् ।
महासंघमा ढकाललाई जिताउन पूर्व अध्यक्ष र प्रभावशाली उद्योगीको एउटा गुट सक्रिय छन् । अर्को गुट किशोर प्रधानलाई जिताउन लागिपरेको छ । उनीहरुले होटलमा गोप्य भेला गर्न थालेका छन् । महासंघमा चरम राजनीति भएको भन्दै एउटा समूह राति अबेरसम्म होटलहरुमा बैठक गर्न थालेका छन् ।