काठमाडौं, ९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता दिपकुमार उपाध्यायले भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुधारको लागि फलदायी हुने विश्वास दिलाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सिमा विवाद समाधानको लागि नेपालमा अहिले अभूतपूर्व एकता देखिएकोले अब सिमा विवाद सरकारले कसरी समाधान गर्छ ? भन्ने कुरा वर्तमान सरकार ठूलो परीक्षामा रहेको स्पष्ट पारे ।
उनले वर्तमान सरकार बलियो सरकार भएपनि सत्तारुढ दल नेकपाभित्रको विवादले नेपालले अहिले ठूलो अवसर गुमाउन लागेको टिप्पणी गरे । कांग्रेस र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहकार्य कति सम्भव छ ? भन्ने प्रश्नमा उनले भने,‘कांग्रेस यतिवेला प्रमुख प्रतिपक्षमा छ । जनताको म्याण्डेटपनि त्यही हो । नेकपाले नै सरकार चलाओस् । प्रधानमन्त्रीपनि ठट्यौली पाराको हुनुहुन्छ । हाम्रो सभापतिजी पनि ठट्टा गर्नुहुन्छ । यो हिसाबले चर्चा चल्यो होला । कांग्रेसले नैतिक, आर्दश गुमाउनुहुँदैन् ।’ आफूले त सभापति देउवालाई पार्टीको महाधिवेशन छिटो सम्पन्न गर्न सुझाव दिएको पनि उपाध्यायले स्पष्ट पारे । नेकपा फुट्यो भने कांग्रेस कता ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘ऋषिजी, हेर्नुहोस देशको राजनीति अत्यन्तै तरल छ । समयचक्र त यति बलवान हुँदो रहेछ । त्यो नहोस् । यदि त्यस्तो भयो भने त्यतिवेला कांग्रेसको भूमिका हुनसक्छ ।’ File Photo