Logo

कोरोनाको नाममा ब्रम्हलुट



जनकपुरधाम, मंसिर १० । कोरोनाले नियन्त्रणका नाममा प्रदेश २ का केही स्थानीय तहले ब्रम्हलुट गर्न थालेका छन् । यसको पछिल्लो उदाहरण बनेका छन्, सप्तरीको बोदेबरसाइन र सिरहाको सिरहा नगरपालिका । यी दुई नगरपालिकाकाले कोरोना संक्रमण नियन्त्रणको नाममा गरेको खर्चमा व्यापक अनियमितता पाइएको हो ।

बोदेबरसाइन नगरपालिकाले सार्वजनिक गरेको कोरोना संक्रमण नियन्त्रण खर्च विवरणअनुसार लाइफबोय साबुनको प्रतिगोटा मूल्य तीन हजार उल्लेख गरेको छ । यस नगरपालिकाले क्वारेन्टिन व्यवस्थापनका नाममा खरिद गरिएका सामग्रीको मूल्य बढाएर खर्च उल्लेख गरेको पाइएको छ ।

गत्त बुद्यबार यस नगरपालिकाले कुल दुई करोड २१ लाख रुपैयाँको कोरोना संक्रमण नियन्त्रण खर्च विवरण सार्वजनिक गरेको थियो । जसमा एउटा लाइफबोय साबुनको तीन हजार आठ सय ३१ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत भएको थियो । ९५ पिस लाइफबोय साबुनमा नगरपालिकाले तीन लाख ६३ हजार नौ सय ८५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । यो खर्च विवरणमाथि सर्वसाधारणले अलोचना गरेपछि नगरप्रमुख आतेशकुमार सिंह यादवले प्रस्टीकरण दिँदै ९५ थान होइन, ९५ कार्टुन साबुनको विवरण हुनुपर्नेमा प्रिन्ट मिस्टेक भएको बताए ।

यादवकै भनाइ मान्ने हो भने पनि एक कार्टुनमा एक सय ४४ थान साबुन हुन्छ । नगरपालिकाले ९५ कार्टुन साबुन किनेको हो भने एक थान साबुनको २६ रुपैयाँ तिरेको छ । तर, नगरपालिकाले चैत २६ पुनः १० कार्टुन ९१,४४० थान० साबुन किन्दा चार लाख ३१ हजार नौ सय ५५ रुपैयाँ भुक्तान गरेको विवरण प्रस्तुत गरेको छ । यो हिसाबले नगरपालिकाले एक थान साबुनमा दुई सय ९९ रुपैयाँ भुक्तान गरेको विवरण तयार पारेको छ ।

नगरपालिकाले चैत ३१ गते ६ हजार नौ सय १२ थान साबुन खरिद गर्दा दुई लाख ३८ हजार ६ रुपैयाँको बिल बनाएको छ । यो हिसाबले भने एक थान साबुनको २९ रुपैयाँ पर्न जान्छ । अनियमितता लुकाउन गोलमाल हिसाब सार्वजनिक गर्ने बोदेबरसाईन नगरपालिका अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको अनुसन्धानमा परेको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोली यस नगरपालिकामा छापा मारेर कोरोना नियन्त्रणको नाममा भएको अनियमित खर्चको कागजात जफत गरेर लगेका छन् । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्