Logo

उद्योग वाणिज्य महासंघको चुनावी संग्रामः ढकाल र प्रधानमध्ये कस्को पल्लाभारी ?



काठमाडौं, १२ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुले प्यानल बनाएर आफ्नो पक्षमा माहोल तयार गर्न सक्रियता देखाएका हुन् ।

ढकाल र प्रधान दुवैले आफ्नो जीतको दाबी गरेका छन् । दुवैले सहमति गर्ने भए आफूलाई समर्थन गर्न सुझाव दिएका छन् । यसबाट चुनावबाटै वरिष्ठ उपाध्यक्षको छिनोफानो हुने भएको छ ।

चन्द्र ढकालको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगतमा उमेशलाल श्रेष्ठ र एशोशिएटसमा रामचन्द्र संघाईसहितका उद्योगी व्यवसायी छन् । महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, सुरज वैद्यलगायतले साथ दिएका छन् ।

किशोर प्रधानको प्यानलमा एशोशिएट्सतर्फ सौरभ ज्योती, वस्तुगतमा अञ्जन श्रेष्ठ र जिल्लामा दिनेश श्रेष्ठ छन् । किशोर प्रधानको पक्षमा पूर्व अध्यक्षहरु कुशकुमार जोशी, बिनोदबहादुर श्रेष्ठ, पशुपति मुरारका देखिएका छन् । महासंघका हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा पनि प्रधानको पक्षमा छन् । उनीहरु प्रधानको घोषणासभामा सहभागी थिए ।

उद्दोग वाणिज्य महासंघको जिल्ला नगरमा भोटको भार बढी छ । कुल मतभारको ५० प्रतिशत हिस्सा नगरमा छ । एशोशिएटतर्फ ३० प्रतिशत मत भार छ । वस्तुगतबाट २० प्रतिशत मतभार छ ।

महासंघको महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले मन्तव्य राखेका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले कोरोनाका कारण इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको भन्दै त्यसको चुनौती सामना गर्नुपर्नेमा जोड दिए । उनले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले किशोर प्रधानलाई समर्थन गरेकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने, हाम्रा भावी अध्यक्ष शेखरजीले हामी दुवैलाई बराबरीरुपमा नैतिक समर्थन गरेको भए हुन्थ्यो भन्ने मेरो चाहना मात्रै थियो । उनले आफ्नो प्यानलका उम्मेदवारहरुको समेत चर्चा गरे । किशोर प्रधानको एजेन्डा नभएको र भावी अध्यक्षको एजेन्डा बोकेको आरोप लगाए ।

वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानले प्रतिष्पर्धी चन्द्र ढकाललाई भाई भन्दै आफूलाई समर्थन गरेर पछि हट्न आग्रह गरे । उनले भने, ‘दाजुको कर्तव्य पहिला पूरा गर्न दिएर अनि मात्रै म नेतृत्वमा जानुपर्छ भन्ने कुरा ककसका कारण उहाँले बाटो बिराउनुभएको छ ।’ आफ्नो उद्देश्य सबैको सहयोगले देशको अर्थतन्त्र सही दिशामा जाओस्, सरकारलाई सही मार्गदर्शन र अर्थतन्त्रको विकास गर्ने हो । उनले उद्दोगव्यवसाय र समग्र आर्थिक क्षेत्रका लागि आफ्नो एजेन्डा प्रस्तुत गरेका थिए ।

महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा २९ चैतपछि स्वतः अध्यक्ष हुनेछन् । त्यसपछि अर्को कार्यकाल अब चयन हुने वरिष्ठ उपाध्यक्षमध्येबाट हुनेछन् । हालका उम्मेदवारहरु चन्द्र ढकाल र किशोर प्रधान मध्ये जस्ले जित्छ उही भावी अध्यक्ष बन्छ ।



प्रतिक्रिया दिनुहोस्