Logo

ओलीले प्रधानमन्त्री पद रक्षार्थ ‘नेकपा अध्यक्ष’ छाड्लान् ?



काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सत्ता संकट बढ्दै गएको छ । उनीमाथि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरुले गम्भीर आरोप लगाउँदै राजीनामाको दबाब दिएका छन् । तर, ओलीले कुनै हालतमा राजीनामा नदिने अडान लिएका छन् ।

आज नेकपा सचिवालय बैठकमा ओलीले आफूमाथि गम्भीर आरोपसहित अध्यक्ष प्रचण्डद्वारा प्रस्तुते लिखित दस्तावेजको लिखित नै जवाफ दिएका छन् । उनले प्रचण्डको आरोपपत्र फिर्ता गराउन खोजेपनि सकेनन् । यसको जवाफ दिन वाध्य भए । यसबाट ओली निकै दबाबमा परेको देखिइसकेको छ ।

ओलीलाई असफल देखाएर पार्टी निर्णयबाट सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी प्रचण्डसहितका नेताहरुको तयारी छ । यसलाई बुझेर ओलीले आफ्नो तयारी गरेका छन् । उनले सत्ता छाड्न दबाब दिए कठोर निर्णयसम्म गर्ने चेतावनी विभिन्न तरिकाले दिइआएका छन् । यसले नेकपाभित्र दुर्घटनाको खतरा पनि बढेको छ ।

पार्टीभित्रको विवाद मिलाउन नेकपाको दुवै पक्ष सक्रिय छन् । विशेषगरी दोस्रो पुस्ताका नेताहरु सहमतिको बिन्दु खोज्न सक्रिय छन् । पूर्व एमालेको एउटा समूह अहिले ओलीलाई अध्यक्ष पद छाड्न लगाएर सहमति निकाल्न लागिपरेको छ । ओलीले प्रधानमन्त्री नछाड्ने तर अध्यक्ष छाड्न लगाएर पूर्व एमालेकै कुनै वरिष्ठ नेतामध्येलाई जिम्मेवारी दिने विकल्पमा समेत छलफल भएको छ ।

नेकपाभित्र पूर्व एमालेको एकता कायमै राख्न दोस्रो तहका प्रभावशाली नेताहरु सक्रिय भएका छन् । सचिवालय सदस्य इश्वर पोखरेल र महासचिव विष्णु पौडेललगायतका नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग पटक पटक छलफल गरेका छन् । झलनाथ खनालसँग पनि एउटा समूह छलफल गर्दै आएको छ । मन्त्रीहरु योगेश भट्टराई र भानुभक्त ढकाल समेत सक्रिय छन् । उनीहरु पूर्व एमालेबीच सहमति बनाउन लागिपरेका छन् ।

नेकपाभित्र दुर्घटना जोगाउन ओलीलाई पाँच वर्ष पूरा अवधि सरकारको नेतृत्व गर्न दिने सहमतिमा अध्यक्ष पद छाड्न लगाउने विषयमा पनि छलफल अगाडि बढेको छ । यसमा ओली सहमत भएमा नेकपाभित्र ओलीको सत्ता संकट टर्न गएर पूर्व एमालेको एकता पनि कायम हुनसक्छ । यो विकल्पमा पूर्व एमालेका प्रभावशाली नेताहरु पनि सकारात्मक बनेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्