काठमाडौं, १४ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र देखिएका विवाद र समस्या आफूहरुले चाहेमा समाधान गर्न सक्ने टिप्पणी गरेका छन् । उनले पार्टीको जीवन कमिटीका बैठकहरुमा हुने र बैठकहरुको जीवन छलफलमा हुने धारणा राखेका छन् । आज विहान आफ्नो सचिवालयमार्फत गौतमले हिजो बसेको पार्टीको सचिवालयमा राखेको आफ्ना धारणा सार्वजनिक गरेका हुन् । गौतमको सचिवालयले फेशबुकमा लेखेको छ :
उपाध्यक्ष क. वामदेव गौतमको धारणा
मैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ ।वैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको छु । पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ । किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ । यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक वस्न छलफल गर्न शुरु गर्दा साथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ । यो वैठक वस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ । बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु ।
बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ । पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्छ । यस्ता व्यवस्थापनसित सबवन्धित विषयमा पनि विवेक पुर्याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।
सञ्चारकर्मी मित्रहरु,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मिति २०७७ मंसिर १३ गते सम्पन्न सचिवालय बैठकमा पार्टीका उपाध्यक्ष क.वामदेव गौतमले निम्नअनुसारको धारणा प्रस्तुत गर्नुभएको व्यहोरा सूचित गरिन्छ । यी धारणालाई यहाँहरुको अनकूलताअनुसार प्रयोग गर्नुहुने विश्वास लिइएको छ ।
विश्वमणि सुवेदी
क. वामदेव गौतमको प्रेस संयोजक
मिति– २०७७।०८।१४