धादिङ, १४ मङ्सिर: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले प्राविधिक शिक्षाको अध्ययन अध्यापनमा जोड दिन नीलकण्ठ क्याम्पसलाई आग्रह गरेका छन् ।
नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पससभाको दोस्रो बैठकलाई शनिबार सम्बोधन गर्दै उनले प्राविधिक विषय इञ्जिनीयरिङ र चिकित्सक विषयको अध्ययन थप गर्नुपर्छ भने । बजारमा प्राविधिक विषयको अध्ययन गर्ने जनशक्तिको माग धेरै भए पनि पढाइ नभएका कारण मागसमेत परा गर्न नसकेको यसतर्फ लाग्नुपर्ने उपाध्यक्ष डा कँडेलको भनाइ छ ।
कार्यक्रममा सांसद खेमप्रसाद लोहनीले जिल्लाको शिक्षाको विकास क्याम्पसले गरेकोले यसलाई सबैको पहुँचमा हुनेगरी उपयोगी बनाउनुपर्नेमा जोड दिएका छन् । सञ्चालक समितिका अध्यक्ष रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न क्याम्पससभामा क्याम्पस प्रमुख नवराज शर्माले रणनीतिक योजना र शैक्षिक गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नीलकण्ठ क्याम्पसमा ९८९ विद्यार्थी रहेका छन् । प्राविधिक शिक्षा शुरुआतका लागि आवश्यक प्रक्रिया अघि बढाउने र सहकारीसम्बन्धी नयाँ पाठ्यक्रम निर्माण गर्र्ने आधार तय गर्ने क्याम्पससभाले निर्णय गरेको छ ।
जिल्लाको पहिलो सामुदायिक सो क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा शम्भुुकुमार श्रेष्ठ चयन भएका छन् । आगामी चार वर्षका लागि उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । उनी क्याम्पस स्थापनाकालका क्याम्पस प्रमुख थिए । क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस प्रमुखमा नवराज शर्मालाई निरन्तरता दिने निर्णय गरेको छ ।-रासस