Logo

‘कुनै शक्तिसँग नझुक्ने’ भन्दै ओलीले प्रचण्डलाई दिए कडा चुनौती (पत्रसहित)



काठमाडौं, २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै शक्तिसँग नझुक्ने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा चुनौती दिएका छन् । आज स्थायी कमिटी बैठकमा सहभागी नहुनुको कारण उल्लेख गरी पत्र पठाउँदै उनले प्रचण्डलाई चुनौती दिएका हुन् ।

ओलीले प्रचण्डद्वारा सचिवालयमा प्रस्तुत यसअघिको प्रतिवेदनलाई सङ्गीन आरोपपत्रको संज्ञा दिए । उनले पत्रमा लेखेका छन्, ‘आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्याएको त्यस्तो सङ्गीन आरोप पत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको ब्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु ।’ प्रचण्डले स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेर फौजदारी आक्षेपहरु लगाएको भन्दै आलोचना गरेका छन् ।

उनले प्रचण्डलगायत वरिष्ठ नेता माधवकुमार नेपालसहितको समूहतर्फ संकेत गर्दै ‘खेलको उत्तराद्र्धमा’ आएर ‘नियम नै बदल्न’ लागेको आरोप लगाए । उनले लेखेका छन्, मलाई थाहा थिएन खेलको उत्तराद्र्धमा आएर केही कमरेडहरु खेलको ‘नियम नै बदल्न’ लाग्नु हुने छ र जसरी पनि जित्ने महत्वाकांक्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुन हुनेछ ।

उनले प्रचण्डको पछिल्लो कदम नैतिकता र राजनीतिक दृष्टिले गलत भएको भदै विभाजनकारी समेत भएको पत्रमा उल्लेख गरेका छन् । पार्टीका सबै कमिटीहरु अन्तरिम हैसियतमा रहेको र त्यसै अनुरुप सहमतिमा चल्नुपर्ने ओलीको जिकिर छ । उनले स्थायी कमिटी पनि सहमतिका आधारमा चल्नुपर्ने घुमाउरो तरिकाले लेखेका छन् ।

ओलीले नेकपा इतिहासकै गम्भीर संकटमा रहेको पत्रमा लेखेका छन् । उनले प्रचण्ड र माधवकुमार नेपालको नाम उल्लेख नगरी संकटको मुख्य कारण भनेका छन् । ओलीले पत्रमा लेखेका छन्, ‘नेकपा आज इतिहासकै गम्भीर संकटमा छ । यो संकट कुनै बाहय कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्वमोह सत्तामोहका कारण निम्तिएको छ ।’

ओलीलाई ‘कुरेर बैठक किन ढिलो गरेको र?’भन्दै भीम रावलले पोखे आक्रोश

नेकपा बैठकः को को आए (तस्बिरसहित)

ओलीलाई सात दिनको समय, स्थायी कमिटी २८ गते बस्ने गरी स्थगित

उनले प्रचण्ड र नेपालतर्फ संकेत गर्दै भनेका छन्, ‘पार्टी नेतृत्वका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण र्सिर्जित यस स.कटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिरहेको छ ।’ उनले भदौ २६ गते पार्टीलाई संकटबाट सकुशल अवतरण गराएको स्मरण गराउँदै फेरि निकास मिल्ने आशा व्यक्त गरेका छन् । उनले स्थायी कमिटी सदस्यहरुलाई संकटबाट निकास निकाल्न सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकका लागि आग्रह समेत गरेका छन् ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीमा पठाएको पत्रको पूर्णपाठ

स्थायी कमिटीका प्रिय कमरेडहरु,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गत २०७७ कात्तिक २८ गते अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डले ‘प्रस्ताव’का नाममा मेराविरुद्ध अभियोगपत्र वितरण गर्नुभएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरु जानकार नै हुनुहुन्छ।

पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तर्विरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुन समेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरु समेत लगाइएको उक्त अभियोग पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छ। पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निःशर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत् छ। एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिडविरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बैठकमा जानुपर्छ भन्ने भनाइ पनि मैले स्पष्ट पारिसकेको छु।

तर उक्त अभियोग पत्रसहित यसबीचका सबै पत्राचार र दस्तावेजहरुलाई सार्वजनिक गरिएको छ। आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पु¥याएको त्यस्तो सङ्गीन आरोपपत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु। परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैँभरि रहँदै आएको छ र भविष्यमा पनि रहने कुरा समेत स्पष्ट पार्न चाहन्छु।

कमरेडहरु, पार्टी एकीकरणको ऐतिहासिक घोषणा गरिरहँदा नेपाली कम्युनिष्ट आन्दोलनका दुवै धारको भावना प्रतिनिधित्व गर्ने एकीकृत, सबल र मुलुकको नेतृत्व गर्नसक्ने विशाल नेपाल कम्युनिष्ट पार्टीको तस्बिर मात्रै मेरो मनमा अंकित थियो। हामीले एकीकरणको सङ्क्रमणकालीन अवस्थामा पार्टी सञ्चालन सहमतिका आधारमा गर्ने विशेष विधि तय ग¥यौँ र पार्टीका कतिपय वैचारिक, सङ्गठनात्मक र नेतृत्वका विषय दुई वर्षभित्र सम्पन्न हुने एकता महाधिवेशनबाट टुङ्ग्याउने निर्णय ग¥यौँ। एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले यिनै विधिलाई ध्यानमा राखेँ। त्यसैअनुरुपका संरचना निर्माण गरिए।

तर मलाई थाहा थिएन, खेलको उत्तरार्द्धमा आएर केही कमरेडहरु ‘खेलको नियम’ नै बदल्न लाग्नुहुनेछ र ‘जसरी पनि जित्ने’ महत्त्वाकाङ्क्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनुहुनेछ। खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छ। आज पनि म दोहोऱ्याउन चाहन्छु– महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसैअनुरुप सहमतिका आधारमा चल्नुपर्दछ।

सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो। सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तर्निहित हुन्छ भन्ने म ठान्छु। अत्यन्त उज्ज्वल सम्भावना बोकेको र देश तथा जनताले अपार विश्वास गरेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज इतिहासकै गम्भीर सङ्कटमा छ। यो सङ्कट कुनै बाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्वमोह र सत्तामोहका कारण निम्तिएको छ। मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु। तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस सङ्कटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिरहेको छ।

मलाई स्थायी कमिटीका कमरेडहरुको सामूहिक विवेकमाथि विश्वास छ। गत भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराउनुभएको थियो। आशा छ, कमरेडहरुले यस पटक पनि व्यक्तिविशेषका स्वार्थका लागि आन्दोलनकै शिकार हुने गरी सिर्जना भएको वर्तमान सङ्कटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनुहुनेछ।

हार्दिक अभिवादनसहित,
केपी शर्मा ओली
अध्यक्ष एवं प्रधानमन्त्री
२०७७ मङ्सिर २१



प्रतिक्रिया दिनुहोस्