Logo

प्रधानमन्त्री ओलीलाई चिकित्सकले कोरोना उच्च जोखिम वर्गमा पर्ने भनेपछि…



काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा गएनन् । उनले विविध कारण देखाउँदै बैठकमा सहभागी नभएको पत्र पठाएका छन् । बैठकमा नगएपनि पत्र पठाएपछि उनी सहभागी भए बराबर हुन्त । तर, भौतिक रुपमा ओली अनुपस्थित हुनु र पार्टी बैठक आयोजना गर्न नमान्नुको खास कारण रहेछ ।

ओलीलाई चिकित्सकहरुले भीडभाड भएको ठाउँमा नजान र मानिसहरुलाई अत्यावश्यकबाहेकको अवस्थामा नभेट्न सुझाव दिएका छन् । कोरोना भाइरसको संक्रमण फैलिइरहँदा ओलीलाई त्यसप्रति चिकित्सकहरुले बारम्बार सचेत गराएको निकट स्रोतले जनाएको छ । उनकी पत्नी राधिका शाक्यलाई पनि चिकित्सकले यसबारे ख्याल गर्न सचेत गराएको बुझिएको छ ।

चिकित्सकहरुको सुझाव अनुसार ओली विगत आठ महिनायता सिंहदरबार गएका छैनन् । उनी भीडभाडमा पनि कमै पुगेका छन् । पार्टी बैठक पनि कमै डाकेका छन् । डाक्नैपरे बालुवाटारमा स्वास्थ्य सुरक्षा अपनाउन लगाएर आयोजना गरेका छन् । बालुवाटारको बैठकमा सचिवालय सदस्यहरु पुग्दा अनिवार्य मास्क, स्यानिटाइजर देखि खुट्टामा समेत जुत्ता छोप्न लगाइने गरिएको छ । ओली निकै टाढा बसेर बैठकको अध्यक्षता गर्दै आएका छन् ।

मन्त्रिपरिषदको बैठक पनि बालुवाटारमा बस्दै आएको छ । बैठकमा पनि ओली मन्त्रीहरुभन्दा निकै टाढा बस्ने गरेका छन् ।

ओलीलाई स्वास्थ्यबारे ख्याल गर्न चिकित्सकले बारम्बार सचेत गराउनुमा उनको मृगौला प्रत्याक्रमण दुईपटक हुनु पनि प्रमुख कारण हो । ओलीले गत वर्षमात्र दोस्रोपटक मृगौला प्रत्यारोपण गरेका हुन् । उनी नियमित औषधी सेवन गर्छन् । चिकित्सकहरुका अनुसार मृगौलाको दीर्घरोगीहरुलाई कोरोनाको उच्च जोखिम हुनेगर्छ ।



प्रतिक्रिया दिनुहोस्