Logo

आन्तरिक उत्पादन शिथिल



वीरगञ्ज, मंसिर २२ । सरकारले आयात घटेको तथ्यांक देखाएर वैदेशिक व्यापार सुधारोन्मुख भएको दाबी गरिरहेको अवस्थामा आन्तरिक उत्पादन भने शिथिल देखिएको छ । स्वदेशी उत्पादनबाट आयात प्रतिस्थापन हुनुलाई सकारात्मक मानिन्छ ।

तर, अहिले उत्पादन र माग खुम्चिएर घटेको व्यापारलाई स्वास्थ्य सुधार मान्न नसकिने उद्यमी व्यवसायी बताउँछन् । पछिल्लो समय औद्योगिक कच्चा पदार्थको आयात घटेको सरकारी तथ्यांकले नै देखाएको छ । कोरोना महामारीको असर र कच्चा पदार्थमा मूल्यवृद्धिले गर्दा यस्ता वस्तुको आयात घटेको निजीक्षेत्रले बताएको छ ।

वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ४ महीनामा मुख्य औद्योगिक कच्चा पदार्थहरूको आयात घटेको छ । वीरगञ्ज मुख्य नाकामात्र नभएर प्रमुख उत्पादन केन्द्र पनि हो । यो कोरिडोरका निर्माण सामग्री र खाद्य प्रशोधन उद्योगले यहीँबाट कच्चा पदार्थ भित्र्याउँछन् ।

फलाम घट्यो
चालू आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिकसम्मको ४ महीनामा वीरगञ्ज सुक्खा बन्दरगाहबाट भित्रिने फलाम करीब आधामा झरेको छ ।

गतवर्ष २०७६/७७ को पहिलो चौमासिक अवधिमा सुक्खा बन्दरगाहबाट ३ लाख ५९ हजार मेट्रिकटन (मेट) फलाम भित्रिएको थियो । चालू वर्षको समीक्षा अवधिमा यो परिमाण १ लाख ८५ हजार मेटमा सीमित भएको बन्दरगाह भन्सारका अधिकृत जगदीश पुर्वेले जानकारी दिए ।

वीरगञ्ज आईसीपी भन्सारबाट पनि कच्चा पदार्थको आयात खस्किएको छ ।

सिमेन्ट पनि सकसमा
डन्डीको मूल्य बढेपछि डन्डीसँगै सिमेन्टको माग पनि खस्किएको इन्टरनेशनल सिमेन्टका सञ्चालक सन्दीप अग्रवालले बताए । माग घटेपछि सिमेन्टको मूल्य र उत्पादन दुवै घटेको अग्रवालको भनाइ छ । सिमेन्टको अहिले मूल्य प्रतिबोरा १८० देखि २३० रुपैयाँसम्म घटेको उत्पादकहरू बताउँछन् ।

केही समयअघिसम्म आयातित वस्तुको मुख्य सूचीमा पर्ने क्लिंकरको आयात स्वात्तै घटेको छ । क्लिंकर यो वर्ष बढी आयात हुने २० वस्तुको सूचीमा नपरेको आईसीपी भन्सारले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्