अमरगढी, मंसिर २२। डडेल्धुरा जिल्लामा एलपी ग्यासको मूल्यमा एकरूपता नहुँदा उपभोक्ता मारमा परेका छन् । एउटै कम्पनीको ग्यासको मूल्य डिलर र सबडिलरहरूमा फरकफरक मूल्यमा बिक्री वितरण हुँदै आएको छ ।
जिल्लाको बागबजार, तुफानडाँडा, कीर्तिपुर, विद्युतरोड र पोखरा बजारमा रकम बढी मूल्यमा ग्यास बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको अमरगढी नगरपालिका स्थानीय मीबहादुर थापाले बताए । उनले भन, “डिलर सबडिलरमै ग्यासको मूल्य फरक छ जसले गर्दा हामी उपभोक्ता मारमा परेका छौँ । हाम्रो मर्का कसले बुझ्ने ?” डडेल्धुरा जिल्लामा सैपाल, भेरी मनकामना तथा रेडिएन्ट ग्यास बिक्री वितरण हुँदै आएको छ ।
सैपाल ग्यासका डिलरले एक हजार ४५० बिक्री वितरण गर्दै आएको छ भने अन्य ग्यासका डिलरले एक हजार ४७५ रुपियाँमा बिक्री वितरण गर्दै आएका छन् तर सोही ग्यास सबडिलरबाट भने एक हजार ५०० देखि एक हजार ६०० रुपियाँसम्म किन्नुपर्ने बाध्यता रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।