विपिन देव: कोरोनाको आक्रान्तका कारणले साङ्घाई सहयोग संगठनको आतिथ्य भौतिक रुपले भारतले नगरे तापनि विद्युतीय माध्यमबाट १९औं शिखर सम्मेलनको आयोजना भयो । साङ्घाई सहयोग संगठनमा सदस्यका रुपमा चीन, भारत, कजाकिस्तान, किर्गिस्तान, रसिया, पाकिस्तान, उज्वेकिस्तान, ताजिकिस्तान छन् भने अनुगमनकर्ताका रुपमा अफगानिस्तान, बेलारुस, इरान, र मङ्गोलिया छन् । डायलग प्रतिनिधिका रुपमा आर्मेनिया, अजरबैजान, कम्बोडिया, नेपाल, श्रीलंका र टर्की पनि छन् । सन् १९९६ मा गठन भएको यस संगठनको प्रमुख उद्देश्य नेटोको दब–दबालाई सन्तुलन गर्नु थियो । अर्थात् अमेरिका र युरोपको बढ्दो प्रभावलाई शिथिलीकरण गर्दै आउने दिनमा एसियाली मुलुकहरुको गठबन्धन र गठजोडलाई अगाडी बढाउने उद्देश्यले यो संगठन अभिप्रेरित थियो । अर्को तर्फ साङ्घाई सहयोग संगठन सोभियत रुसको विघटन पछी आर्थिक रुपमा कमजोर अर्थव्यवस्थालाई वित्तीय सहयोग र संरक्षण दिन पनि आफ्नो मार्गचित्र बनाएको थियो ।
१९औं साङ्घाई सहयोग संगठनको अध्यक्षता भारतका उपराष्ट्रपति वैंकेया नायडूले गरेका थिए । डिसेम्बर १ मा भएको शिखर सम्मेलनको सामरिक महत्वको बारेमा संसारका मुर्धन्य छापाखानाहरुले यथेष्ट ठाउँ दिएका छन् । वर्तमान परिवेशमा भारतले विश्वको महत्वपूर्ण संगठनहरुको अध्यक्षता गर्ने अवसर पाएको छ । विश्व स्वास्थ्य संगठन, ब्रिक्स र साङ्घाई संगठनको नेतृत्व पाउनु भारतको लागि अवसर र चुनौती पनि हो ।
साङ्घाई सहयोग संगठनलाई सम्बोधन गर्दै भारतका उपराष्ट्रपतिले साङ्घाई सहयोग संगठनप्रति भारतको आस्था र दायित्व माथि प्रकाश पारेका थिए । साङ्घाई सहयोग संगठनको छातामा चीन, भारत र पाकिस्तानले द्विपक्षीय कटुतालाई अगाडि सारेमा साङ्घाईको उद्देश्य नै ओझेलमा पर्न सक्थ्यो होला भने जानकारहरुको दाबी रहेको थियो । गत सेप्टेम्बरमा साङ्घाई सहयोग संगठनको बैठकमा पाकिस्तानले नयाँ नक्सा राख्दा भारतका सुरक्षा सल्लाहकार अजित डोभेलले बैठकलाई नै बहिष्कार गरेका थिए । तसर्थ साङ्घाई सहयोग संगठनको नेतृत्व द्विपक्षीय द्वन्द्व र कटुतालाई विषय प्रवेश नगराउन सजग देखिन्थे ।
भारतका उपराष्ट्रपतिले साङ्घाईको लागि एउटा नयाँ भविष्य निर्माण गर्न सदस्यहरुलाई आग्रह गरे । साङ्घाई सहयोग संगठनलाई रोड म्याप दिन भारतले पहिलो चोटी अवसर प्राप्त गरेको थियो । भारतले साङ्घाई सहयोग संगठनका आबद्ध देशहरु सँग आतंकवाद सँग सामुहिक लडाईं गर्न अपिल गरेका थिए । विगतका दिनहरुमा यस संगठनले आतंकवाद सँग सङ्ग्राम गर्न अभूतपूर्व सफलता पनि प्राप्त गरिसकेको छ । अर्थात् यस संगठनले क्षेत्रीय आतंकवाद नियन्त्रण गर्न एउटा संरचना बनाएको छ । जुन संरचनाले र संयन्त्रले हाल सम्म ५ सय आतंकवादीलाई बन्दीबनाएर कारबाहीको लागि अभियुक्तलाई अपराध गरेको देशमा चलान गरिसकेको छ भने यस संयन्त्रले ६ सय आतंकवादी घटनाहरुलाई घटना नहुन् दिनबाट समेत रोकेको देखिन्छ, अर्थात् सूचना र सहयोगको आदानप्रदानका माध्यमबाट मानवीय क्षति रोकेको देखिन्छ । भारतका उपराष्ट्रपतिले कोरोनाको कहरबाट विश्व छटपटाइ रहेको अवस्थामा संसारका एक सय ५० वटा मुलुकहरु मानव संसाधन आवश्यक औषधी र उपकरणको सहयोग गरेर भारतले आफ्नो दायित्व, संकल्प र संवेदनालाई प्रत्याभूति गरेको छ भने उदघोष गरे । आउने दिनमा विश्वका सबभन्दा बढी भ्याक्सिन उत्पादक क्षमता भएका देशका हैसियतले भारतले संसारका कुना–कुनामा कोरोनाको खोप पुर्याउने समेत वचन जाहेर गरे । जनसांख्यिक लाभांश अधिक भएको कारणले गर्दा भारत सन् २०२५ सम्म ५ ट्रिलियन डलरको अर्थव्यवस्था हुने संकेत गर्दै विद्युतीय क्षेत्रमा पनि आफ्नो नेतृत्व र वर्चश्व कायम राख्ने पनि संकेत गरे । हाल सम्म सफ्टवेयरको क्षेत्रमा भारतले आफ्नो अगुवाई कायम राखेको कुरा पनि जाहेर गरे ।
साङ्घाई सहयोग संगठनको चुनौतीहरु पनि निकै देखिएको छ । भारत–चीन र पाकिस्तानको त्रिकोणात्मक द्वन्द र टकरावले युरेसियन क्षेत्र नै प्रभावित भएको छ । यस अर्थमा साङ्घाई सहयोग संगठनको प्रमुख दायित्व आर्थिक कारोबारलाई बढाउनु हो । एक अर्थमा भन्ने हो भने साङ्घाई सहयोग संगठनको महत्वपूर्ण दायित्व आर्थिक कारोबारलाई नै बढाउनु हो । राजनीतिक द्वन्दले गर्दा आर्थिक सम्बन्ध प्रभावित हुने गरेको छ । पाकिस्तानले भारतको समान दुबईबाट खरिद गर्ने गर्दछ । अन्त्यमा आर्थिक भार क्रेतालाई पर्न जान्छ । तसर्थ साङ्घाई सहयोग संगठनले भारत, चीन र पाकिस्तानको बीचमा भैरहेको द्वन्दलाई शिथिलीकरण गर्दै आर्थिक कारोबारको वातावरण बनाउनु पर्दछ । साङ्घाई सहयोग संगठनका मुलुकहरुमा आपसी सौहार्दता बढाउन संस्कृति, साहित्य र धर्म पनि महत्वपूर्ण भूमिका खेल्न सक्दछ । बौद्ध धर्म सेतुको रुपमा भूमिका खेल्न सक्दछ । चीन र भारतका बीच सामाजिक सौहार्दता बौद्ध धर्मले बढाउन सक्दछ । भारतका उपराष्ट्रपतिले बौद्ध धर्मको प्रचार र प्रसारलाई आउने दिनमा जोड दिने पनि संकेत गरे ।
विवेकानन्द फाउन्डेसनका अरविन्द गुप्ताले बौद्ध धर्मको प्रचार र प्रसारमा भारतभन्दा चीन अगाडी रहेको कुरा जिकिर गरे । भारतका पुर्व राजदुत विष्णु प्रकाशले साङ्घाई सहयोग संगठनको मुख्य दायित्व “इकोनोमिक रिकोभरी” नै हो भने टिप्पणी गरे । अर्थात् कोरोनाको कहरले गर्दा युरेसियन क्षेत्रका मुलुकहरु आर्थिक रुपले कमजोर भएका छन् । अर्का महत्वपूर्ण टिप्पणीकार जे.एन.यु. का प्रोफेसर डा. स्वर्ण सिंहले साङ्घाई सहयोग संगठनमा रसियाको सक्रियतालाई अपेक्षा गरेका छन् । रसियाको चीन र भारतको बीचमा द्वन्द शिथिलीकरणको मध्यस्तता गरेको खण्डमा मात्र भारत र चीनले आफ्नो आर्थिक महत्वकांक्षालाई प्राप्त गर्न सक्दछ । अर्थात् साङ्घाई सहयोग संगठनको अगाडि चुनौती र अवसर दुवै छन् ।