रुपन्देही, मंसिर २३ । गत बुधबार बुटवलको अस्पताल लाइनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुटवल उपमहानगरपालिका–८ का भरत शर्माले मृत्यु भयो । तीव्र गतिको ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । बिहीबार बर्दियाको मधुवनमा पनि त्यस्तै दुर्घटना भयो । नगरपालिका–४ भुरीगाँउ जाँदै गरेको कारलाई टिप्परले ठक्कर दिँदा दुईजनाको घटना स्थलमै मृत्यु भयो । उक्त घटनामा तीनजना गम्भीर घाइते भए । सोही दिन रूपन्देहीको सखुवानीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भयो ।
गत शनिबार गुल्मीको इश्मा हुलमा जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै निधन भएको थियो । दुर्घटनामा घाइते दुईजना घाइते भए । यी पछिल्ला केही दिनमा भएका दुर्घटना हुन् । लुम्बिनी प्रदेशमा पछिल्लो एक सातामा मात्रै सवारी दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् । लुम्बिनीमा सुरक्षा निकाय, प्रदेश सरकार र विभिन्न संघ संस्थाले दुर्घटना न्युनिकरणका लागि अभियान सञ्चालन गर्दै आएपनि दुर्घटनामा भने कमी आएको छैन ।
कोरोना भाइरसका कारण लामो समय लकडाउन हुँदा पनि दुर्घटनाको दर गत वर्षकै अनुपातमा बढेको छ । दुर्घटनाले समाजमा मानविय, सामाजिक तथा आर्थिक रूपमा ठूलो क्षति पुर्याएको छ । दुर्घटनाको बढ्दो तथ्यांकले अहिलेको सडक सुरक्षा कार्ययोजना र अभियानको प्रभावकारीता माथिनै प्रश्न उब्जाएको छ ।
पछिल्लो चार महिनामा प्रदेशका १२ जिल्लामा पाँच सय ४६ वटा सवारी साधन दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी एक सय ४६ जनाले ज्यान गुमाए, भने पाँच सय ८९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई सय ५२ जना गम्भीर अवस्थाका छन् । गत वर्षको यहीँ अवधिमा चार सय ६८ वटा सवारी साधन दुर्घटना भएको आजको नागरिक दैनिकमा खवर छ ।