Logo

सर्वदलीय सरकार सम्भव होला ?



काठमाडौं, २३ मंसिर । देश अहिले कोरोना भाइरसको महामारीमा छ । महामारीका बीच देशमा भएको राजनीतिक परिवर्तनमाथि चुनौती थपिएको छ । गणतन्त्र, संघीयता र धर्मनीरपेक्षतालाई उल्टाउने गरी सडकमा प्रदर्शनहरु हुन थालेका छन् ।

शुरुमा केही व्यक्तिहरु सडकमा ओर्लिएकोमा विस्तारै संगठित रुपमा राजावादीहरुको प्रदर्शन हुन थालेको छ । विभिन्न संस्थाका नाममा सडकमा ब्यानरसहित दिनहुँ प्रदर्शन हुँदै आएको छ । झापा, विराटनगर, जनकपुर, वीरगञ्ज, बुटवल, चितवन, धनगढीका अलावा काठमाडौंमा पनि उनीहरुले शक्ति प्रदर्शन गरेका छन् । प्रदर्शन फैलदो र बढ्दो भएपछि प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चर्कदै जानु र कोरोना महामारीमा जनता मारमा पर्नुले वितृष्णा बढ्दा राजावादी बलियो हुँदै जानुले परिस्थितिमा बदलावहरु आउन थालेको छ । ओलीको सत्ता संकट अर्को चुनौती बनेको छ । आफ्नै दलभित्रबाट सत्ता संकट बढ्दा ओलीले विकल्पमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र अर्को दल राष्ट्रिय जनता पार्टीसँग मिलेर जाने विकल्पबारे छलफल बढाएका छन् । उनले देउवासँग केही हप्ता अघि भेटवार्ता समेत गरेर सत्ता समिकरणको कुराकानी गरे ।

ओली चौतर्फी घेराबन्दीमा पर्दै जाँदा उनी स्वयं सत्ता संकट भोगिरहेका छन् । अर्कोतर्फ, राजनीतिक प्रणाली नै उल्टाउने गतिविधिहरु बढेको छ । यो गतिविधिविरुद्ध गणतन्त्र पक्षधरहरु एक हुने आवश्यकता महशुश गर्न थालेका छन् । अहिले ओलीविरोधीले उनका कारण गणतन्त्र धरापमा परेको आरोप लगाइरहेका छन् । अवस्था गम्भीर बन्दै गएपछि आरोप प्रत्यारोपभन्दा एकतावद्ध भएर जाने वातावरण तयार गर्न ओली सक्रिय भएका छन् ।

आज बस्ने सर्वदलीय बैठकमा गणतन्त्रको रक्षा र परिवर्तनविरोधीलाई परास्त गर्न ओलीले साझा रणनीतिको प्रस्ताव गर्ने बुझिएको छ । त्यो प्रस्ताव सबै मिलेर जाने खालको हुने निकट स्रोतले बताएको छ । राजनीतिक संकटसँगै ओलीको सत्ता संकट पार्टीभित्रै बढेको अवस्था छ । यसबीच उनले सर्वदलीय सरकार बनाउन सकिन्छ कि भनेर निकटस्थसँग परामर्श गरेको बुझिएको छ । विगतमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महामारीको अवस्था रहेको भन्दै यस्तै प्रस्ताव गरेका थिए । अहिले देशमा गणतन्त्रमाथि नै चुनौती बढ्दा सर्वदलीय सरकारको सम्भावना पनि देखिएको छ ।

ओलीले सकटसँग मिलेर बढ्न साझा धारणा बनाउने र आवश्यक परे आफ्नो नेतृत्वमा सर्वदलीय सरकार पनि बनाउनेतर्फ कुराकानी बढाउन सक्ने बुझिएको छ ।-

 

 



प्रतिक्रिया दिनुहोस्