Logo

प्रतिकार भन्दै हिंसामा उत्रियो विप्लव समूह



काठमाडौं, २४ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी हिंसामा उत्रिएको छ । उक्त समूहले मङ्गलबार मोरङमा शिक्षक राजेन्द्रकुमार श्रेष्ठको घाँटी रेटेर हत्या गरेको छ । यसको जिम्मेवारी विप्लव समूहको मेची कोशी ब्युरोले लिएको छ ।

विप्लव समूहले मङ्गलबार साँझ नै प्रेस विज्ञप्तिमार्फत् हत्याको जिम्मेवारी लिएको हो । उसले श्रेष्ठमाथि सुराकीको आरोप समेत लगाएको छ ।

मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठलाई सात जनाको समूहमा आएकाले घरबाटै अपहरण गरी लगिएका थिए । उनको खोजी गर्दा देउढुंगा जङ्गलमा शव फेला परेको थियो । घरबाट एक किलोमिटरको जङ्गलमा उनको शव घाँटी रेटेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

श्रेष्ठको हात बाँधी हत्या गरिएको थियो । उत्तानो परेको शव रहेको ठाउँमा केही मडारिएको चिन्ह पनि थियो । घटनास्थलमा लाठीका अलावा शिक्षक श्रेष्ठको मोबाइल समेत फेला परेको थियो । मोरङमा विप्लव समूहबाट पहिलोपटक व्यक्ति हत्या भएको छ । यसले उक्त क्षेत्रमा त्रास बढेको बुझिएको छ ।

विप्लव समूहले शिक्षकको अपहरणपछि हत्या गरी डर पैदा गराएको हुनसक्ने विश्लेषण हुनथालेको छ । उसले त्रासमार्फत् प्रभाव बढाउन खोजेको पनि बुझ्न सकिन्छ ।
यसअघि ८ मंसिरमा विप्लवले अन्तवार्तामार्फत् संघर्षलाई सशक्त रुपमा अगाडि बढाउने बताएका थिए । उनले संविधान र व्यवस्थाको विरुद्ध आफूहरुको संघर्ष केन्द्रित रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्