Logo

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा भर्चुअल आर्ट प्रदर्शनी



काठमाडौं, २४ मंसिर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा प्लान इन्टरनेशनल नेपालले आफ्नो विश्वव्यापी अभियान गल्र्स गेट इक्वेल अन्तर्गत किशोरकिशोरीहरुले तयार पारेको आर्टहरुको भर्चुअल प्रदर्शनी शुभारम्भ गरेको छ । प्रदर्शनीमा किशोरकिशोरीहरुले बनाएकामध्ये किशोरी र बालबालिकाको समस्या, उनीहरुको मुद्धा, धारणा, अनुभव र कथाहरुलाई चित्रण गरिएका १५० वटा आर्टहरु राखिएका छन् ।

यस प्रदर्शनीअघि प्लान इन्टरनेशनलले गत अक्टोवरमा अन्तराष्ट्रिय बालिका दिवसका अवसरमा सुनसरी, बाँके, बर्दिया, मकवानपुर, जुम्ला, कालिकोट र सिन्धुलीका २५० जना किशोरकिशोरीहरुलाई कला सृजनासम्वन्धि सीप सिकाउन भर्चुअल माध्यमबाट आर्ट वर्कसप आयोजना गरेको थियो । त्यसका सहभागीहरुले आफ्नो समस्या र मुद्धाबारे सरोकारवालाको ध्यानाकर्षण गराउन विभिन्न खालका कला सृजना गरेका थिए ।

प्लान इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक लिज सातोले भनिन्, “हामीले यो वर्षको आर्ट इज पावर” कार्यक्रमबाट किशोरी र किशोरका थुप्रै उत्कृष्ट आर्टहरु संकलन गरेका छौं, उनीहरुले तयार पारेका सृजनाहरु धेरै राम्रा छन्, जसमा किशोरीहरुले कुनै पनि प्रकारका हिंसाबाट मुक्त हुन पाउनुपर्ने चाहना राखेका छन्, हामीले उनीहरुको यो सृजनालाई सम्मान गर्नुपर्छ ।”

किशोरकिशोरीहरुका लागि १० वटा कार्यशालामार्फत् कला सृजनाका विभिन्न माध्यम चित्रकला, कमिक्स, कविता, गीत लगायतबारे सिकाइएको थियो । बाँकेकी सहभागी अञ्जना थापा मगरले भनिन्, “ किशोरीहरुको मुद्धालाई चित्रण गर्दै कला सृजना गर्न पाउँदा निकै खुशी लागेको छ, त्यस्तै भर्चुअल प्रदर्शनीमा मेरो सृजना प्रस्तृत गर्न पाउँदा गौरव लागेको छ ।”
आर्ट इज पावर कार्यक्रमको यो दोस्रो संस्करण हो । कोभिड–१९ को महामारीका कारण यो पटक भर्चुअल माध्यमबाट गरिएको कार्यशाला र आर्ट प्रदर्शनीका लागि कालो १०१ नामक संस्थाले सहजीकरण गरेको थियो ।

किशोरकिशोरीले तयार पारेको कला सृजनामा आधारित भई व्यवसायिक कलाकारहरुले ११ वटा क्यानभास तयार पारेका छन् । नेपालमा किशोरीहरुले भोगिरहेका समस्याबारे सरकारी निकाय, स्थानीय जनप्रतिनिधि लगायतको ध्यानाकर्षण गराउन उनीहरुका लागि समेत ती क्यानभास प्रदर्शन गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्