Logo

प्रचण्डलाई पूर्व एमालेले एकल अध्यक्ष नस्वीकार्ने, ओली-माधव मिलाउने प्रयास



काठमडौं, २४ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्रको पछिल्लो विवाद सत्ताको मात्र नभई भविष्यमा पार्टीमा को नेतृत्वमा पुग्ने भन्ने पनि देखिएको छ । दुई अध्यक्ष रहँदा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकले अर्काको अस्तित्व स्वीकार नगर्ने अवस्था बन्दै गएको छ । ओलीले त राजनीतिक प्रतिवेदनमा प्रचण्डलाई हैसियत सम्झन सुझाएका छन् ।

नेकपा विवादमा ओली र प्रचण्ड अडानबाट टसमस भएका छैनन् । एकजना स्थायी कमिटी बैठकमा नजाने र अर्काचाहिं कुनै हालतमा प्रतिवेदन फिर्ता नलिने । यसरी विवाद न मिल्छ न वार कि पारको अवस्था बन्छ ।

ओली र प्रचण्डबीचको विवादमा उनीहरु मात्र छैनन् । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम पनि मुख्य खेलाडी बनेका छन् । तीनैजना पूर्व एमालेका हुन् । विष्णु पौडेल र इश्वर पोखरेललाई पनि राजनीतिक भविष्यको चिन्ता छ । रामबहादुर थापा बादल आफ्नै लयमा छन् ।

नेकपाभित्र पूर्व एमालेका माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम प्रचण्डको मोर्चामा रहेपछि एकाथरीलाई चिन्ता बढेको छ । कतै पूर्व एमाले विभाजित हुँदा प्रचण्डले फाइदा लिने त होइनन् ? दोस्रो पुस्ताका धेरै नेताहरु पूर्व एमालेबीच एकतामा जोड दिदै आएका छन् । उनीहरुले ओलीलाई अध्यक्ष छाड्न लगाएर वा अर्को अध्यक्ष पनि थप गरी माधव नेपाललाई बनाएर जाने सुत्र पनि तयार गरिरहेका छन् । विश्वस्त स्रोतका अनुसार तेस्रो अध्यक्ष माधव नेपाललाई पनि ओली सकारात्मक छन् । तर, अध्यक्ष छाड्न तयार छैनन् ।

ओलीलाई प्रधानमन्त्रीमा कायमै राखेर अध्यक्ष छाड्न लगाउने र उक्त पदमा माधवकुमार नेपाल रहने सुत्रबारे पनि पूर्व एमालेका दोस्रो पुस्ताका नेताबीच छलफल भएको बुझिएको छ । जसरी हुन्छ नेकपामा पूर्व एमालेकै नेतृत्व हुनुपर्ने उनीहरुको रणनीति हो । ओलीका ठाउँमा माधव, झलनाथ या बामदेवलाई मान्न सकिने तर प्रचण्डलाई मान्न नसकिनेमा पूर्व एमालेका दोस्रो पुस्ताका नेताहरु एकमत भएको विश्वस्त स्रोतले जनाएको छ । यसरी उनीहरु कुनै पनि हालतमा प्रचण्डको नेतृत्व अस्वीकार गर्ने पक्षमा छन् ।

प्रचण्डले पनि पूर्व एमालेको एकता रहेसम्म पार्टी कब्जा गर्न नसकिने बुझेका छन् । त्यसैले उनले माधव नेपाललाई बरु प्रधानमन्त्रीमा समर्थन गर्ने र एकल अध्यक्ष बन्ने रणनीति चालेका छन् । प्रचण्ड पार्टीमा पकड बनाउन रणनीति बनाएर बढेका छन् । उनले पूर्व एमालेभित्र विभाजन ल्याउन सफलता हासिल गरिरहेकै छन् । तर, कुनैपनि बेला पूर्व एमाले एक भएमा प्रचण्डको यो रणनीति असफल हुनसक्छ । ओलीले निकै पलेको र आफूलाई नगनेकोमा माधव नेपाल आक्रोशित भएका हुन् । बामदेव पटक पटक धोका खाइयो भनेर चिढिएका हुन् । तर, लामो राजनीतिका सहयात्रीहरु कुनैपनि बेला एकजुट भएमा आश्चर्य नमाने हुन्छ । त्यसको भित्र भित्र तयारी पूर्व एमालेको एकाथरी शक्तिशाली नेताहरुले गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्