Logo

राष्ट्रिय गौरवको योजनाका नाममा अवैध धन्दा



कास्की, मंसिर २५ । पोखरामा दुई राष्ट्रिय गौरवको योजनाको नाममा क्रसर उद्योगले अवैध धन्दा सञ्चालन गरेका छन् । निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रिय पुनर्निर्माणअन्तर्गतको मणिलाल सडक (हेम्जा, खानेपानी मुहान, लुम्रे, सिदिङ) योजनाका लागि भन्दै सञ्चालन गरिएको क्रसर मापदण्डविपरीत स्थापना भएका मात्र छैनन् अवैधरुपमा नदीजन्य सामग्री निकासी गर्दै आएका छन् ।

पोखरा महानगरपालिका–१४ चाउथेस्थित भौंसीतरा कन्ट्राक प्रालिको नामबाट सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भएको छ । राष्ट्रिय गौरवको योजना निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलका लागि मात्र सामान निकाल्ने भनेर उक्त क्रसर सञ्चालनमा ल्याउन स्थानीय निकायले स्वीकृत दिएको थियो । सो क्रसर उद्योगले मापदण्डविपरीत अवैध ढंगले गिटी बालुवा अन्यत्रसमेत बिक्रीवितरण गर्दै आएको छ ।

पोखराको मोर्डनाइज स्कुलनजिकै रहेको रोयल्स विल्डर्स प्रालिको डिपोमा उक्त क्रसरबाट उत्पादन भएको सामान बिक्री हुँदै आएको छ । क्रसरबाट दैनिकजसो ५–६ वटा ट्रिपरले डिपोमा सामान ल्याएर छाड्ने गरेका छन् ।यसअघि उक्त क्रसर मापदण्डविपरीत सञ्चालन भएको भन्दै पटकपटक बन्द गरिएको थियो । यस्तै माछापुच्छ«्रे गाउँपालिका–४ समीबगरस्थित हेमदुङ्ग कन्ट्रक्सनको नाममा क्रसर उद्योग सञ्चालनमा रहेको छ । राष्ट्रिय पुनर्निर्माण योजनाअन्तर्गतको सडक निर्माणका लागि उक्त क्रसर सञ्चालनमा ल्याइएको थियो । उक्त क्रसरले सडक निर्माणको नाममा अन्यत्र सामान बेच्ने गरेको पाइएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्