Logo

धार्मिक पर्यटनमा साझेदारी बढ्ने विश्वास



काठमाडौ., २५ मंसिर । कोभिड–१९ बाट प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि ‘धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण’ उपलब्धिमूलक हुने देखिएको छ ।

नेपाल पर्यटक यातायात व्यवयासी सङ्घ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड पोखराको सहकार्यमा सञ्चालित धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमणले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न उपलब्धिमूलक हुने देखिएको हो ।

गत सोमबारदेखि बुधबारसम्म पाल्पाको तानसेन, नवलपरासीको रामग्राम, नवलपुरका त्रिवेणीधाम, गजेन्द्रमोक्षधाम, कैलाश आश्रम, चितवनको बाल्मीकि आश्रम, तनहुँको देवघाटलगायतका स्थानको भ्रमण एवं सरोकारवालासँगको छलफलले आगामी दिनमा ती स्थानमा पर्यटकीय साझेदारी बढ्ने अपेक्षा गरिएको नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले बताए ।

“हाम्रो तीन दिने परिचयात्मक भ्रमण उपलब्धिमूलक बनेको छ”, उनले भने, “नवलपुरका धेरै पर्यटकीय गन्तव्य पर्याप्त सम्भावनाका बाबजुद ओझेलमा परेको पायौं ।” नवलपुरका धार्मिकस्थललाई गण्डकी प्रदेशका अन्य धार्मिक स्थलसँग जोड्दै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सके महत्वपूर्ण उपलब्धि हासिल हुने उनले बताए ।

गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९÷२२ का संयोजक जुद्धबहादुर गुरुङले भ्रमणका क्रममा नवलपुरको पर्यटकीय विकासका धेरै सम्भावना पाइएको बताए । गण्डकी प्रदेश सरकारले नवलपुरको समग्र विकासका लागि पनि प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले सम्भावनाको उजागर गर्दै अघि बढ्ने बताए।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष डम्बरबहादुर केसीले ऐतिहासिक धार्मिकस्थललाई त्यहाँको मौलिकता कायम गर्ने गरी विकास गर्नुपर्ने आवश्यकता औंल्याए । अर्का पूर्व अध्यक्ष सोमबहादुर थापाले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका नाममा देखिएको समस्यासँगै त्रिवेणीवासीलाई आफ्नै सदरमुकाम जान पनि प्रदेश नं ५ मा पुगेर आउनुपर्ने समस्यालाई समाधान गर्नुपर्ने बताए ।

परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेलले भ्रमणले पोखरासँग नवलपुरको पर्यटकीय साझेदारीमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै यहाँका धार्मिक पर्यटकीयस्थलको प्रवद्र्धन अपरिहार्य भएको उल्लेख गरे। पोखराको भ्रमण टोलीसँग विभिन्न स्थानमा भएका अन्तक्र्रियामा नवलपुरको विनय त्रिवेणी नगरपालिका–६ का वडाध्यक्ष प्रितम गुरुङ, गजेन्द्रमोक्षाश्रम धामका कृष्ण प्रपन्नाचार्य, होटेल व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष सन्तोष राना मगर, उपाध्यक्ष प्रकाश कुँवर, नन्दपुर मिलिजुली होमस्टेका अध्यक्ष ताराप्रसाद चौधरीलगायतले भ्रमणले पर्यटनमा साझेदारीका धेरै सम्भावना बढाएको बताए।

त्रिवेणी धामदेखि मुक्तिनाथसम्मका धार्मिक पर्यटकीयस्थललाई समेट्दै विकास गर्न सकेमा राम्रो उपलब्धि हासिल हुने धारणा राख्दै उहाँहरूले आवागमन सहज बनाउन सडक सञ्जाल निर्माणमा जोड दिनुपर्ने आवश्यकता औल्याए। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्तीका कारण देखिएको समस्यालाई राज्यस्तरबाट चाँडै समाधान खोजिनुपर्नेमा उनीहरूको सामूहिक माग छ ।

भ्रमणका क्रममा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अघि बढिने बताउँदै सङ्घका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक बाबुराम पाण्डेले यसको प्रतिवेदन तयार गरिने उल्लेख गरे। रासस



प्रतिक्रिया दिनुहोस्