Logo

काठमाडौं मेडिकल कलेजको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै आफन्तद्वारा कारबाहीको माग



काठमाडौं, २५ मंसिर । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै पीडित परिवारले कारबाहीको माग गरेका छन् । उपचारको क्रममा ५६ वर्षीया लक्ष्मी कुँवरको २३ मंसिरमा निधन भएकोमा आफन्तहरुले लापरबाही भएको भन्दै कारबाहीको माग गरेका हुन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मृतक कुँवरका आफन्तहरुले लापरबाही भएपछि कारबाहीको माग गर्दा उल्टै अस्पतालले दुःख दिने कार्य गरेको बताए । मृतककी बुहारी अप्सरा कार्की कुँवरले अस्पतालको लापरवाहीको कारणले नै लक्ष्मी कुँवरको मृत्यु भएको भन्दै निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारवाही गर्न माग गरिन् । उनले भनिन्, ‘अस्पतालले लापरबाहीले आमाको निधन भएकोले निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही हुनुपर्छ ।’ उनले आफुहरुले न्यायको माग गरिरहेको बताइन् ।

उपचार गर्न गएका विरामीमाथि उल्टै लापरबाही गरी जीवन नै खतरामा पार्ने गतिविधिहरु हुनथालेको उनको भनाई थियो । ‘अस्पतालले आफ्नो गल्ती स्विकार गरेर उचित क्षतिपुर्ति दिई शवलाई दाह सस्कार गर्न दिनुपर्छ,’ कुँवरले भनिन् । उनले प्रहरीले पक्राउ गरेका आफन्तहरुलाई बिना शर्त रिहा गर्नपनि माग गरिन् ।

लक्ष्मी कुँवरको उपचारका क्रममा निधन भएपछि आफन्तले कारबाहीको माग गरेपछि अस्पतालले बिरामीको मृत्युपछि तोडफोडको आरोप लगाउदै प्रहरी लगाएर आफन्तहरुलाई पक्राउ गराएर उल्टै फसाउन खोजेको भन्दै छोरी सुनिता अधिकारीले न्यायका लागि सहयोगको आग्रह गरिन् । उनले पक्राउ परेका आफन्तहरुलाई तुरुन्त रिहाई गर्न माग गरिन् । कार्यक्रममा बोल्दै आफन्तहरु मीरा कुँवर र लीला कुँवर लगायतले अस्पतालले उल्टै फसाउन खोजेको बताए ।

स्वासप्रस्वासमा समस्या भएर अस्पताल भर्ना भएकी लक्ष्मी कुँवरको उपचारको क्रममा मंसिर २३ गते सोमबार मृत्यु भएपछि आफन्तहले अस्पतालको लापरवाहीको कारण मृत्यु बताउदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्