Logo

कालोपत्रको काम अन्तिम चरणमा



डोटी, २६ मंसिर । सुदूरपश्चिम प्रदेशकै गौरवको आयोजनका रुपमा लिइँदै आएको डोटीको बुडर–जोरायल सडकखण्डको बुडरदेखि रिठा गाउँसम्म करिब १२ किलोमिटर सडक कालोपत्रको काम करिब अन्तिम चरणमा पुगेको छ ।

कालोपत्र निर्माणको जिम्मा पाएको कम्पनी राजेन्द्र निर्माण सेवाले कालोपत्रको काम करिब करिब अन्तिम चरणमा पुगेको जनाएको छ । उक्त कामको शिलान्यास गत असोज २५ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए ।

उक्त सडकको सम्पूर्ण काम आगामी जेठ मसान्तभित्र पूरा गर्ने गरी ठेक्का सम्झौता भएको बताइएको छ । ठेक्का सम्झौता भएसँगै उक्त सडकको काम तीव्ररुपमा सञ्चालन भइरहेको सडक पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए। जिल्लामा पछिल्लो समय विकास निर्माणका कामले तीव्रता पाएका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले कामको जिम्मा लिने तर समयमै काम नसक्ने ठेकेदारलाई कालोसूचीमा राखी कारवाही गर्न निर्देशन दिएसँगै यहाँका पुराना विकासका कामले तीव्रता पाएको जोरायल गाउँपालिका–३ का स्थानीयवासी पवनकुमार साहुले बताए । उनले भने, “कामको ठेक्का लिने तर काम नगरी योजना अलपत्र पारे हिँड्ने ठेकेदारलाई कालोसूचीमा राख्न मुख्यमन्त्रीले निर्देशन दिएपछि अहिले जिल्लामा पुराना विकासका योजना तीव्ररुपमा शुरु भएका छन् ।”

सडक कालोपत्र गर्नका लागि राजेन्द्र निर्माण सेवा डडेल्धुराले कन्टेन्जेन्सी रकमसहित रु ७२ करोड ५६ करोड ३१ लाख १५ हजार ६५२ मा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ । हाललाई सडक १२ किलोमिटर सडक कालोपत्र गर्न रु ३२ करोड ७१ लाख ४७ हजार ५६५ सम्झौता रहेको छ । बुडरदेखि जोरायलको चनकट्टेसम्म कम्तीमा पनि ३० किलोमिटर सडक तीन वर्षभित्र कालोपत्रको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यसैगरी सडक चौडा गर्ने विषयमा विगत १८ वर्षदेखि विवादित बनेको डोटीको बुडर–जोरायल सडक निर्माण कार्यको काम पनि अहिले आएर बल्ल शुरु भएको छ । सडक निर्माण कम्पनी तथा जग्गाधनीबीच उत्पन्न भएको विवाद गाउँपालिकाले सहमतिमा ल्याएपछि अहिले आएर सडक फराकिलो पार्ने कामको शुरुआत गरिएको छ ।

सडक चौडा पर्ने सहमति भएसँगै अहिले जोरायल गाउँपालिका–२ बाँजीलेकदेखि खैरिखोला हुँदै जिजिकोट भएर तल्लो हाट जोड्ने सडकमा डबल कटिङको काम शुरु भएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “निर्माण कम्पनी र जग्गाधनीको विवादले १८ वर्षदेखि काम बन्द भएको सडकमा हामीले सहमति गराएर अहिले सडक फराकिलो गर्न थालेका छौँ । सबैलाई आवश्यक पर्ने काममा विवाद गर्नु राम्रो होइन ।”

बुडर–जोरायल सडकखण्डको बाँजीलेकदेखि खैरीखोला हुँदै जिजिकोट भएर तल्लोहाट जोड्ने गरी सर्भे भएको बाटोमा विवाद भएपछि बाँजीलेकबाट गुँयली हुँदै रावल गाउँ भएर तल्लो हाटसम्म सडक निर्माण गरी यातायात सञ्चालन भइरहेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेका बुडर–जोरायल सडकखण्डको रिठादेखि चन्कट्टेसम्मको १७।३० किलोमिटर सडक कालोपत्र गर्न काम शुरु भएसँगै उक्त सडकमा रहँदै आएको विवादमा सहमति जुटेको स्थानीयवासी चित्रराज भट्टले जानकारी दिए । विसं २०५८÷०५९ तिर सर्भे भएको ठाउँबाटै सडक निर्माण गर्ने सहमति भएर काम शुरु भएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुनाकुमारी बोहराले जानकारी दिए ।

विवाद सिर्जना भएपछि डाइभर्सन बदलेर बाँजिलेक गुँयली हुँदै तल्लोहाट जोडिएको अहिले सञ्चालनमा रहेको सडक स्टिमेटबाट पहिले नै क्यान्सिल भइसकेको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ । राजेन्द्र निर्माण सेवासँग सम्झौता भएको उक्त ठेक्का जोरायलका स्थानीयवासी क्षेत्रबहादुर खड्का, चित्र भट्ट र वीरबहादुर दर्लामीसँग पेट्टी ठेक्का सम्झौता भएर रिठाबाट चन्कट्टेसम्मका लागि काम अगाडि बढाइएको हो । रासस



प्रतिक्रिया दिनुहोस्