Logo

साढे आठ खर्ब सहयोगको प्रतिबद्धता



काठमाडौं, मंसिर २७ । कोरोना सङ्क्रमणबाट प्रभावित नेपालको समग्र क्षेत्रको पुनरुत्थान योजनामा सहयोग गर्न सबै विकास साझेदार सहमत भएका छन् । शुक्रबार नेपाल सरकार र विकास साझेदारहरूले संयुक्त विज्ञप्ति जारी गर्दै दिगो तथा हरित पुनरुत्थानमा सहयोग पु¥याउन तयार रहेको जनाएका हुन् ।

हरित पुनरुत्थानको दृष्टिकोणबाट जीवन रक्षा, रोजगारीको सुरक्षा तथा दैनिक जीवनयापनलाई मुख्य प्राथमिकतामा राख्दै त्यसका लागि लगानी बढाउने र त्यसपछि समानता र दिगो विकासमा जोड दिइने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल र विकास साझेदारहरूबीच भएको सहमतिअनुसार हरित पुनरुत्थान प्याकेजका लागि करिब आठ खर्ब ७० अर्ब रुपियाँ (सात अर्ब ४० करोड अमेरिकी डलर) आवश्यक पर्ने देखिएको छ । कोभिड–१९ को सुरुवाती अवस्थामा उपलब्ध गराएको अनुदान र ऋणसमेत यसमै समावेश हुनेछ । त्यस्तै स्वीकृत भइसकेका, कार्यान्वयनको चरणमा रहेका तथा आगामी परियोजना पनि यही रकममा समेटिनेसमेत उल्लेख छ ।

विकास साझेदारहरूले सुरुमा विभिन्न पाँच क्षेत्रलाई पहिचान गर्दै त्यसको सुरुवाती लागतसमेत निकालेका छन् । जसअनुसार प्रत्यक्ष स्वास्थ्य हेरचाह र खोप पहुँच तथा प्रभावित समूहको जीवनयापनमा सहयोग पु¥याउन ८४ करोड डलरसम्म खर्च हुने अनुमान छ ।

त्यस्तै चालू र पक्का भइसकेका आयोजनाको पुनर्संरचनाका लागि चार अर्ब २० करोड डलरसम्म र नयाँ तथा कार्यान्वयनको चरणमा पुगेका परियोजनाका लागि दुई अर्ब ४० करोड डलरसम्म खर्च हुने प्रारम्भिक लागत प्रक्षेपण गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्