Logo

जोखिमबीच खुले विद्यालय



काठमाडौं, मंसिर २७ । बाँकेको मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालय कक्षा १० की छात्रा प्रज्ञा डाँगी आठ महिनापछि नियमित पठनपाठनमा सहभागी भइन्। कृषि बाली विज्ञान विषय पढिरहेकी उनी मंसिर १४ यता नियमित विद्यालय पाउँदा खुसी छिन्। कोभिड–१९ को जोखिमबारे भने उनी अनभिज्ञ छिन्।

‘विद्यालय बन्द भएर घरमा बसिरहँदा साह्रै नरमाइलो लागेको थियो,’ उनले भनिन्, ‘अहिले विद्यालय खुलेपछि राम्रो भएको छ।’ उक्त विद्यालयका शिक्षक गणेश ओलीका अनुसार शिशुदेखि कक्षा ८ सम्मका विद्यार्थीका लागि बिहान साढे ९ बजेदेखि साढे १२ बजेसम्म र ९ देखि १२ सम्मका लागि दिउँसो साढे १ देखि अपराह्न साढे ४ बजेसम्म पढाइ सञ्चालन भइरहेको छ। विद्यार्थीका लागि मास्क, स्यानिटाइजर र साबुनपानीको उचित व्यवस्था गरिएको उनले बताए।

महामारीका कारण चैतमा सम्पन्न वार्षिक परीक्षापछि मुलुकभरका विद्यालय बन्द थिए। महामारी नियन्त्रणमा नआउँदा २०७७ सालको शैक्षिक सत्र लामो समय रोकियो। संघीय सरकारले तयार गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा–२०७७’ अनुसार लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका विद्यालय मंसिरदेखि सञ्चालनमा आएका हुन्। कार्यढाँचालाई आधार मानी विद्यालयले विद्यार्थीका लागि अनिवार्य रूपमा मास्कको व्यवस्था गर्नुपर्ने, एउटा बेन्चमा दुईजनाभन्दा बढी विद्यार्थी राख्न नपाइने, नियमित रूपमा साबुन पानीले हात धुन लगाउनुपर्नेलगायत मापदण्ड बनाइएको छ।

सोही मापदण्डअनुसार लुम्बिनी प्रदेशमा पठनपाठन थालिएको बताइएको छ। अधिकांश विद्यालयले पठनपाठन सञ्चालन गरिरहेको सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख रामसुरेश यादवले बाँकेमा ७५ प्रतिशत विद्यालय सञ्चालनमा आइसकेको बताए। बर्दियाका सबै स्थानीय तहले विद्यालय सञ्चालन गरिरहेका छन्। कपिलवस्तुमा पनि अहिले धमाधम पढाइ चलिरहेका छन्। दाङका अधिकांश विद्यालय सिफ्टअनुसार चलिरहेका छन्। सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका सूचना अधिकारी डा पुष्पराज पौडेलले कोरोना महामारी कायम रहे पनि विद्यालय खोल्ने होडबाजीले जोखिम बढाएको बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्